चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)भदौ २२ गते शुक्रवार धादिङ, चितवन र मकवानपुर जिल्लामा सार्वजनिक विदा

278 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

धादिङ न्यूज /२०८० भदौ १७ गते सोमबार

धादिङ- अल्पसंख्यक अति सिमान्तकृत चेपाङ समुदायको  राष्ट्रिय पर्व न्वागी (छोनाम) अबसरमा वागमती प्रदेश सरकारले भदौ २२ गते शुक्रवार चेपाङ समुदायको बसोबास रहेको धादिङ, चितवन र मकवानपुर जिल्लामा सार्वजनिक विदा दिएको छ ।

सोमबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा धादिङ, चितवन र मकवानपुर जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यो बर्षको छोनाम (न्वागी)भदौ २२ गते शुक्रवार धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ च्याङ्लीमा मनाईने नेपाल चेपाङ संघ केन्द्रिय समितिले जनाएको छ। चेपाङ समुदायले हरेक वर्ष भदौ २२ मा सामूहिक रुपमा छोनाम अर्थात न्वागी पर्व मनाउने गर्दछन्।

चेपाङ समुदायका अगुवा पत्रकार उद्धव चेपाङका अनुसार छोनाम अर्थाथ न्वागी चेपाङहरुको पुरानो परम्परा,संस्कृति एवम सामुदायिक सांस्कृतिक पर्व हो ।छोनाम का दिनलाई चेपाङहरुको नयाँ बर्षका रुपमा मान्ने गर्दछन । यस दिन पान्दे झाँक्री बोलाएर पूजा गरी कन्दमूल, फलफूल, तरकारी, घैया धान, कागुनो,आदि खाने गरिन्छ।’

न्वागी मानाउँदा पितृहरूको सम्झनामा पूजा गरिनुका साथै यस दिन देवीदेवतासँग रोगव्याधी नलागोस भनेर आशीर्वाद लिने र भाकल भए त्यसको  पूजा गर्ने चलन समेत रहेको छ ।

न्वागीमा घैया धानलाई टाउकोमा राखेर आशिस लिने गरिन्छ। सोही दिन परिवारका सदस्यहरुका साथै आफन्त, नातागोता सबै जना एकै ठाउँमा जम्मा भई पान्दे झाँक्रीबाट ढ्याङग्रो ठटाएर, पुराना भाकाका गीत, झ्याउरे गीत गाएर नाचगान गरी रातभर रमाइलो गर्दै एक आपसमा खुसी साटासाट गर्ने प्रचलन समेत रहेको छ ।

केही बर्ष यता चेपाङहरुले धर्म परिवर्तन गर्नेक्रम बढ्दै गएपछि छोनाम पहिलेको जस्तो हुन छाडेको चेपाङहरु वताउँछन ।चेपाङ समुदायको कुल जनसंख्याको ८५ प्रतिशतले धर्म परिवर्तन गरिसकेको राष्ट्रिय जनगणनाको तथ्यांकले देखाएको छ । नेपालका चितवन, मकवानपुर, धादिङ र गोरखामा यो जातिको बसोबास बढी छ। देशका २६ जिल्लामा चेपाङहरुको बसोबास रहेको र राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर चेपाङको जनसंख्या ८४ हजार ३ सय ६४ जना रहेको छ । जनसंख्याका आधारमा चेपाङ समुदाय अल्पसंख्यक अति सिमान्तकृत वर्गमा पर्दछ ।

चेपाङ समुदायले न्वागी र भूयार गरी दुई वटा पर्वलाई मुख्य पर्वको रूपमा मनाउने गर्दछन । खेती लगाउने समयमा भूयार र खेती थन्काउने बेलामा न्वागी अर्थात छोनाम मनाउने गरिन्छ ।

फागुन र चैतमा रोपेका बाली साउनरभदौमा तयार भएपछि प्रकृतिलाई पूजा गर्दै नयाँ खेती चढाएर भित्र्याउने चेपाङहरुको चलन रहेको नेपाल चेपाङ संघका पूर्व केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङ बताउँछन । मुख्यरूपमा यतिबेला पिँडालु, निबुवा, घिरौँला, कागुनो, तामा, घैया धान भित्र्यार भगवानलाई चढाइ खान सुरु गरिने जितेन्द्रले बताए।

’चेपाङ समुदायलाई आफ्नो बारीमा उब्जनी भएको अन्नले छ महिना पनि खान पुग्दैन। जे जति उत्पादन हुन्छ, यसलाई निकै सम्मान दिएर पूजा गरेर मात्रै खाने चलन उनिहरुमा रहेको छ । अल्पसंख्यक यो जाति धेरैको आफ्नै जमिनसमेत छैन। वनमा फलेका कन्दमूल खाएर कतिपयले जीविका टार्नुपर्ने बाध्यता छ। शिक्षाको अभावमा बाल्यअवस्थामा नै विवाह हुने गरेकाले जन्मिएका बालबालिका र आमाको स्वास्थ्य अवस्था जटिल हुने गरेकाले आमा र बच्चा दुवै कुपोषित हुने समस्या समेत रहेको छ ।

  • फाइल तस्बिर – धादिङ न्यूज