माछामा मिसाएको रंगले मलेखुमा व्यवसायमै लाग्यो धक्का

509 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १४ असोज – माछाका पारखीहरुको लागि पहिलो रोजाईको केन्द्र बन्दै गएको मलेखुमा व्यापारीहरुको लापरवाहीले वजार समस्यामा पर्न थालेको छ । माछाका परिकारका बिक्रीका लागि  मलेखुमा होटल व्यसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले माछामा अबका दिनमा कुनै किसिमको अखाद्य रंगको प्रयोग नगर्ने सार्वजनिक प्रतिबद्धता जनाएका छन् ।

असोज १४ गते गजुरी गाउँपालिका वडा नम्बर २ मजुवा मलेखु क्षेत्रमा माछा संग सम्वन्धित व्यवसाय गर्दै आईरहेकाहरुको भेलाले माछाको व्यापारलाई गुणस्तरीय र उपभोगमैत्री वनाउने निर्णय गरेको हो । मलेखुका माछा व्यापारी एकै ठाउँमा भेला भएर साझा प्रतिबद्धता जनाउनु पर्ने अबस्था त्यतिकै आएको भने होइन ।

  केही दिन यता मलेखुका माछावजारलाई केन्द्रित बनाएर सामाजिक सञ्जाल र विभिन्न मिडियामा नकारात्मक कोणबाट प्रचार प्रसार गरिरहेका छन् ।  मलेखुको माछामा मानवस्वास्थ्यका लागि हानिकारक मानिएको कोलतार रंग अर्थात सिम्पेथिक फुड कलर मिसावट गरिएको पुष्टि भएपछि मलेखुको चर्चा चुलिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र स्थानीय प्रशासन लगायतले एक साता अघि गरेको बजार अनुगमनमा माछामा अखाद्य रंग मिसाएको भेटिएपछि माछाबजारको बद्नामी बढ्दै गएको हो । अनुगमन टोलीले मलेखुका माछा प्रशोधन केन्द्र, माछा पसल र होटलहरुबाट हानिकारक रङ्ग मिसावट गरिएको करिव एक सय पचास किलो माछा जफत गरेर नष्ट गरेको फोटो र भिडियोलाई प्रयोग गरेर यति बेला सामाजिक सन्जालमा जताततै मलेखुको माछाको चर्चा भईरहेको छ ।

पृथ्वीराजमार्ग र त्रिशूली नदीको किनारमा रहेको मलेखु बजारमा एक सय भन्दा बढी माछाका परिकार बिक्री गर्ने होटलहरु सञ्चालनमा रहेका छन् । मलेखुमा असला, कत्ले, झिंगे, वामसहितका माछाका परिकार उपलब्ध छन् । सडक छेउका होटलमा सजाएर राखिएका (फ्राइड माछा धेरैको रोजाईमा पर्दछ । माछामा काँडा हुने भएका कारण पनि धेरैले फ्राईड गरेको माछा खाना मन पराउँछन् । पृथ्वीराजमार्ग भएर यात्रा गर्ने धेरैले मलेखुको माछाको स्वाद लिएका हुन्छन् ।

पृथ्वी राजमार्ग हुँदै साना सवारीमा यात्रा गर्ने यात्रुहरु माछा खानका लागि मलेखुमा रोकिने गर्दछन् । जाडो होस या गर्मि मलेखुको माछावजारले सदावहार व्यापार गरिरहेको छ । आम उपभोक्ताको पहिलो रोजाईमा परेको मलेखुले आफ्ना ग्राहकलाई घात गरेपछि माछावजारको वदनामी शुरु भएको हो ।

वर्षौंदेखि माछा बजारको नामले चिनिएको मलेखुमा पकाईएका विभिन्न परिकार संगै सुकेका र नसुकाइएका सिल माछाको व्यापार पनि हुने गर्दछ । ग्राहकको आकर्षण बढाउन यहाँका माछा व्यापारीहरुले आलो माछालाई आगोमा सेकाउनु अघि खानै नमिल्ने रंग मिसाएर प्रशोधन गर्ने गरिएको अनुगमन समितिले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोटका खाद निरीक्षक नवराज श्रेष्ठका अनुसार ‘मलेखुको माछामा मिसाईएको रंग पकाएर खाँदा रसायनिक प्रतिकृया भएर बिषादी बन्ने गर्दछ । बिषाक्त बस्तु शरिरमा प्रवेश गरेपछि क्यान्सर जस्ता घातक रोग लाग्नुका  साथै अन्य असर समेत देखिने गर्दछ ।’

व्यवसायनै धरापमा पर्ने स्थिति बनेपछि मलेखुका माछा व्यापारीहरु गल्ती नदोहो¥याउने प्रतिवद्धता जनाउन वाध्य भएका हुन । यस अघि पनि पटक पटक सचेत गराउँदा अटेरी हुंदै आएका मलेखुका माछा व्यवसायीहरुले यस पटक भने ठूलै चुनौतीको सामना गर्नुपर्ने भएपछि गल्ती सच्याउन लिखित प्रतिबद्धता जनाएका छन् ।