संचारमाध्यमले प्राथमिकतामा नराखेको महिला सांसदहरुको गुनासो

106 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । महिला सदस्यहरूले आफूहरुले उठाएका सवालबारे सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् । सञ्चार माध्यमले राजनीति पद र विवादित विषयलाई प्राथमिकतामा राख्दा महिला सांसदहरुले उठाएका महत्वपूर्ण र संवेदनशील विषय पनि ओझेलमा पर्ने गरेको उनीहरुले गुनासो गरेका हुन् ।

‘महिला सांसद र सञ्चार’ विषयमा संसद सहयोग परियोजनाको सहकार्यमा नेपाल एफएम नेटवर्कले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै सांसदहरुले सञ्चार माध्यमले विषय भन्दा व्यक्तिलाई ध्यान दिएको गुनासो गरे । कार्यक्रममा सांसदहरुले वास्तविकतामा कानुन निर्माणमा महिला सांसदको सक्रिय सहभागिता रहेको तर सञ्चारमाध्यमले यस्ता विषय खोजेर समाचार तयार गर्न नसकेको सांसद नारायणी शर्माको भनाई छ ।

उहाँले मिडियाको पहिलो रोजाई पुरुष सांसद पर्ने र महिला सांसदलाई प्राथमिकतामा नराख्ने गरेको आरोप लगाउनुभयो । सांसद शर्माले चर्चामा आउने विषयमा पूरुष सांसद केन्द्रविन्दुमा रहने उल्लेख गर्नुभयो । ‘पुरुष सांसदले सत्तापक्ष÷प्रतिपक्षको विरोध गर्ने÷कटाक्ष बढी गर्छन’ उहाँले भन्नुभयो, ‘राजनीति विवाद र आरोप प्रत्यारोपमा लागेकाले बढी समाचार आएको होला, हामीले गम्भिर विषय उठाउँदा पनि समाचार आउँदैन । ’

सांसद सरिता भूषालले महिलालाई हेर्ने समाजको दृष्टिकोण फरक रहेको र महिलाले केहि जान्दैनन् भनेर उपहास गर्ने चलन रहेको बताउनुभयो । यसो हुँदाहुँदै पनि महिला सांसदहरु अगाडी बढीरहनुभएको छ, अहिले सदनमा पनि अन्त्यन्तै टट्कारो रुपमा बोल्ने महिलाहरु हुनुहुन्छ, उहाँले भन्नुुभयो । सांसद भुसालले पुरुष सांसदको तुलनामा महिला सांसद अझै पनि अगाडी आउन नसकेको बताउनुभयो ।
सांसद हर्कमाया विश्वकर्माले संसदमा बोल्ने क्रममा र कानून निर्माणमा महिलाको सहभागिता शसक्त देखिएको तर जनताकोबीचमा स्थापित हुन नसको बताउनुभयो । एउटै विषयमा बोल्दा पुरुष सांसदको कुरा मिडियामा आउने तर महिला सांसदको कुरा नआउने प्रचलन कायम रहेको उहाँको दावी छ ।

संसद भवनबाट निस्किँदै गर्दा मिडियाले पुरुष सांसदलाई नै बढि प्राथमिकता दिने गरेको सांसद विश्वकर्माको भनाई छ । ‘मैले संसदमा उठेर संसद भवनभित्र महिलामाथि, दलितमाथि विभेद भयो, भनेर भन्दा पनि समाचारमा आएन’, उहाँले भन्नुभयो, ‘त्यही कुरा पुरुष सांसदले बोल्यो भने आउँछ, हामीले बोल्यो भने आउँदैन । किन हो बुझ्न सकिएको छैन् । ’

सांसद सिता कुमारी रानाले महिला सांसदले नबोलेको भन्ने कुरा सहि नभएको दावी गर्नुभयो । उहाँले सांसद बन्नका लागि मिडियाले धेरै सघाएको बताउँदै सजक गराएको बताउनुभयो । सांसद रानाले कहिलेकाँही राम्रो बोलेको कुरा पनि तथ्य बंग्याएर प्रस्तुत गरिदिने गरेको उल्लेख गर्नुभयो ।

सांसद विन्दबासिनी कंसकारले आफुले संसदमा बोलेको कुरालाई मिडियाले कम प्राथमिकता दिएको बताउनुभयो । ‘महिला सांसदले बोलिरहेको समयमा पुरुष सांसद आउनुभयो र पत्रकारहरु पुरुष सांसदतर्फ जानुभयो’ उहाँले भन्नुभयो । महिला सांसदहरु कहिल्यै पनि मिडियासँग तर्केर नहिँडेको सांसद कंसकारको भनाई छ । मिडियाले महिला सांसदलाई प्राथमिकतामा पार्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा संसदिय रिपोर्टिङ गरिरहेका पत्रकारहरुले सांसदहरुलाई पत्रकारसँगको सम्बन्ध÷समन्वय बढाउन, विषयवस्तुबारे जानकारी गराउन सुझाव दिएका छन् ।

राष्ट्रिय सभाको दुई वर्ष (२०७५–०७६) को तथ्यांक अनुसार निर्माणको क्रममा परिमार्जन भएका ३३ वटा विधेयकमा संशोधन दर्ता गराउने महिला सांसदको सहभागिता ३२.७५ प्रतिशत देखिएको छ । ्रतिनिधि सभातर्फ परिमार्जन भएका ३९ वटा विधेयक हेर्दा संशोधनमा महिला सांसदको सहभागिता ५०.६ प्रतिशत देखिएको छ । पुरुषले बोलेका विषय बढी राजनीतिक र महिला सांसदले बोलेका विषय विषय केन्द्रित देखिउका छन् ।

महिला सांसदलाई पत्रकाहरुको सुझाव
अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार विनय गुरागाईले महिला सांसदले सञ्चार माध्यमसँग समुन्वय गर्न नसक्दा पनि समाचारमा कभरेज कम भएको बताउनुभयो ।

राजनीतिमा पनि नेतृत्व तहमा महिलाको कमी, महिला राजनीतिज्ञको सूचनामा कम पहुँच, महिला राजनीतिज्ञ सूचनाको स्रोत बन्न कठिन हुँदा पनि यस्तो समस्या देखिएको उहाँको भनाइ छ ।

राजनीति र संसदीय विषयलाई नै आफ्नो बिट बनाएर काम गरिरहेका पत्रकारहरुले पनि महिलाले विषयबस्तुलाई फरक तरिकाले प्रस्तुत गर्न नसकेकाले पनि महिला सांसदले उठाएका विषय सञ्चार माध्यममा आउन नसकेको बताए ।

संसदीय मामिला पत्रकार समाजका महासचिव पत्रकार जयसिंह महराले महिला सांसदहरुले अध्ययन गरेर विषयबस्तु कम राख्ने गरेको र राजनीतिक विषयमा बोल्न रुची नदेखाएकाले सञ्चार माध्यमले पुरुष सांसद खोज्नु परेको बताउनुभयो ।
महिला सांसद र सञ्चार माध्यमबीचको दूरी कम गर्न तथा महिला सांसदले खेलेका भूमिकालाई थप प्रभावकारी बनाउन समय–समयमा यस्ता अन्तरक्रिया तथा छलफल गर्न आवश्यक उहाँको सुझाव छ ।

पत्रकार जीवन भण्डारीले महिला सांसद आफैले पनि समुन्वय गर्न नसकेको टिप्पणी गर्नुभयो । विषयबस्तु माथिको अध्ययन, पत्रकारसँग निरन्तर सम्पर्क, सृजनशील प्रस्तुती महिला सांसदले राख्न नसकेको स्वीकार गरेर अघि बढ्न महिला सांसदहरुलाई सुझाव दिनुभयो ।

पत्रकार सोविता रिसालले महिला सांसदहरुले संसदभित्र र बाहिर गर्ने प्रस्तुती र विषयबस्तुमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । कुनै समाचारका विषयमा जिज्ञाशा राख्दा महिला सांसदले दिने जवाफ र भित्री सूचना राख्न नसक्दा पनि सञ्चार माध्यमको खोजीमा कम पर्ने गरेको अनुभव सुनाउनुभयो ।

पत्रकार गीता चिमोरियाले पहिलो चरणमा महिला सांसद आफै अग्रसर हुनुपर्ने र सञ्चार माध्यमले पनि प्राथमिकता दिनुपर्ने बताउभुयो । महिला सांसदले विषयबस्तुको छनौट समय अनुसार गर्न नसक्नुपछि उहाँहरुका विषय आउन नसक्ने एउटा कारण रहेको उहाँको तर्क छ ।

महिला सांसद र पत्रकारहरुले मिडियासँगको सम्बन्धलाई थप प्रभावकारी र सुमधुर बनाउन आगामी दिनमा पनि सञ्चारमाध्यमसँग निरन्तर छलफल गर्न सुझाव दिएका छन् ।