यमपञ्चकको दोश्रो दिन  आज बिहान कुकुर तिहार, सांझमा लक्ष्मी पूजा

214 पटक पढिएको

सम्पादक: Dhading News

आईतबार ,२७ कात्तिक २०८० ।

हिन्दुहरुको महान चाड तिहार अर्थात यमपञ्चकको दोश्रो दिन  आज कुकुर तिहार ।हरेक बर्ष कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी कुकुरलाई मीठो खान दिने परम्परा छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने प्रचलन छ।

कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन हो। यस दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ। यस दिन कुकुरको सम्मान स्वरूप मासु, दूध, अण्डा र कुकुरको खाना लगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ। यस दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरेमा त्यसलाई पाप मानिन्छ।

कुकुरलाई आज्ञापालक एवम् रक्षकको रूपमा लिइन्छ। विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन,नुसन्धान गर्ने कार्य पनि कुकुरले गर्दछे कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको पाइन्छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ। कुकुर तिहार विश्वव्यापी रूपमा गैर आवसीय नेपालीहरूले मनाउने गर्छन्।

आजको दिनलाई नरक चतुर्दशी तथा नर्के चतुर्दशी पनि भन्ने गरेको पाइन्छ । नरक चतुर्दशीको दिन विहानै ननुहाई केही खानु हुन्न भन्नै हिन्दू मान्यता रहेको छ । यो वर्ष लक्ष्मीपूजा पनि आजकै दिन परेको हुँदा लक्ष्मीको भव्य पूजा गरी बत्ति, माला तथा फूलले घर सजाएर लक्ष्मीको स्वागत गरी आज साँझ लक्ष्मीपूजा पनि मनाइदै छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ।

यस्तै आज बेलुकी समूह बनाई घरघरमा भैलो खेल्ने चलन छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।