भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी २५ वर्षीया सुत्केरीको चिसोबाट मृत्यु

385 पटक पढिएको

११ मंसिर २०८०, सोमबार १३:१२ सम्पादक: धादिङ न्यूज

काठमाडौं । भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ।

उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ। स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार राति चिसोबाट मृत्यु भएकोे जानकारी दिए। नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भने, ‘घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ।’

चदाराले छोरीको जन्म दिएकी थिइन्। गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरूपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ।