ब्रोम्दिङ र थमभन्ज्याङको नाङ्गा डाँडामा चिया वगान बनाउन कस्सिए गाउँबासी

206 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२३ असार । धादिङको वेनिघाट रोराङ वडा नम्बर १ ब्रोम्दिङ र थमभन्ज्याङको खुल्ला चरण क्षेत्रलाई संरक्षण गरी त्यस ठाउँमा व्यवसायिक रुपमा चिया खेतीको प्रवद्र्धन गर्ने उद्देश्यले चियाको बिरुवा रोपिएको छ ।

बेनिघाट रोराङ गाउँपालिकाले वडा नम्बर १ मा व्यवसायिक रुपमा चियाखेती प्रवद्र्धन गर्ने कार्यक्रम अन्र्तगत अघिल्लो आर्थिक बर्षमा ५ लाख र चालु आर्थिक बर्षमा ३ लाख आर्थिक सहयोग दिएपछि परिक्षणका रुपमा पाँच हजार चियाको बिरुवा रोपिएको हो ।

चिया प्रवद्र्धन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान तामाङका अनुसार बेनीघाट रोराङ गाउँपालिकाले एक वडा एक कृषि उत्पादन पकेट क्षेत्रको रूपमा विकास गर्ने उद्देश्य वडा नम्बर १ लाई चिया, अम्रिसो, आलु, बेमौसमी बन्दा, काउली खेतीको पकेट क्षेत्रको रूपमा विकास गरिने निती तथा कार्यक्रममा उल्लेख गरेको छ ।

धादिङको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ गाउँपालिकाको अधिकांश भूभाग महाभारत पर्वत क्षेत्रमा पर्दछ । वडा नम्बर १ को ब्रोम्दिङ र थमभन्ज्याङ समुन्द्री सतहबाट एक हजार सात सयदेखि दुई हजार तीन सय साठी मिटरसम्म फैलिएको छ । न्यानो समशीतोष्ण हावापानी पाइने यस क्षेत्रमा चिया खेतीको प्रबल सम्भावना रहेको छ । गाउँपालिकाले यस क्षेत्रका नाङ्गा डाँडाहरूमा चिया खेती प्रवद्र्धन गर्ने र स्थानीय समुदायको आयआर्जन बढाउने नीति लिएको छ । यससँगै पर्यटनको अथाह सम्भावना रहेको यस क्षेत्रमा चिया खेतीले पर्यटनको प्रवद्र्धनमा पनि टेवा पुग्ने गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ बताउँछन् ।

अहिले रोपिएका विरुवा जोगाउन सके आगामी सातदेखि दश वर्षभित्र ब्रोम्दिङ र थमभन्ज्याङ चिया बगानमा परिणत हुनेछन् ।