संविधानसभा चुनावमा सेना परिचालन यसरी हुँदैछ
586 पटक पढिएको
मन्त्रिपरिषद्ले हालै स्विकृत गरेको ‘संविधानसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०७०’ अनुसार ६१ हजार सेनाले ३९ जिल्लाका मतदान केन्द्रबाहिर बसेर नेपाल प्रहरीलाई सुरक्षामा सघाउने छ । मतदान केन्द्रभित्रको सुरक्षामा प्रहरी र म्यादी खटिनेछन् । सुरक्षा दृष्टिले अतिसंवेदनशील र संवेदनशील सूचीमा परेका ३६ जिल्लामा भने प्रहरी र सशस्त्र प्रहरी नै परिचालन गरिनेछ । बल प्रयोगको आवश्यकता परे उनीहरूलाई नै अघि बढाउने रणनीति लिइएको छ ।
यी जिल्लाका मतदान केन्द्रको भित्री सुरक्षामा नेपाल प्रहरी र म्यादी खटिनेछन् । बाहिरी सुरक्षा जिम्मा सशस्त्र प्रहरीको हुनेछ । मतदान केन्द्र वरपर सेनाको उपस्थिति हुने छैन । कुनै विध्वंसात्मक घटना भयो र दुवै प्रहरीले नियन्त्रणमा लिन नसकेको खण्डमा मात्र सेना खटिनेछ । यसको निम्ति सेना ‘स्ट्राइकिङ फोर्स’को भूमिकामा रहने व्यवस्था गरिएको छ । यसअनुसार सुरक्षा अवस्था काबुबाहिर गए तत्काल अघि बढ्नसक्ने गरी सेना तयारी अवस्थामा रहनेछ ।
‘जस्तोसुकै परिस्थितिमा पनि सेना खटाउने अधिकार प्रमुख जिल्ला अधिकारी संयोजकत्वको जिल्ला सुरक्षा समितिलाई दिइएको छ,’ गृह मन्त्रालयले तयार पारेको ६० पृष्ठको सुरक्षा योजनामा उल्लेख छ । सेनालाई जिल्ला सुरक्षा समिति मातहत ल्याइएको यो पहिलोपटक हो । यसअघि गृह मन्त्रालयअन्तर्गतका प्रहरी र सशस्त्र खटाउने अधिकार मात्र समितिलाई थियो । निर्वाचन सुरक्षा अनुगमनका लागि गृहमा केन्द्रीय सुरक्षा समिति, क्षेत्रीय प्रहरी कार्यालयमा क्षेत्रीय सुरक्षा समिति र जिल्लामा जिल्ला सुरक्षा समितिको व्यवस्था गरिएको छ । सबै समितिमा सेनाको प्रतिनिधि रहनेछ ।
एकीकृत सुरक्षा योजनाअनुसार मतदानको एक महिनाअघि कात्तिक ४ देखि मात्रै सेना फिल्डमा खटिनेछन्। सरकारले मतदान क्षेत्रको सुरक्षाबाहेक सेनालाई उद्धारमा हेलिकप्टर प्रयोग, विस्फोटक पदार्थ निस्तेज, विकट क्षेत्रमा मतदान सामग्री ओसारपसार र सुरक्षा दृष्टिले महत्वपूर्ण प्रतिष्ठानको जिम्मा तोकेको छ । सशस्त्रका ३७ हजार जनशक्तिमध्ये २९ हजार निर्वाचन सुरक्षामा खटिनेछन् । सशस्त्रलाई अतिसंवेदनशील जिल्लामा निर्वाचन बुथबाहिरको सुरक्षा, स्ट्राइकिङ, मोबाइल टोलीको जिम्मेवारी तोकिएको छ । सुरक्षा प्रबन्धका लागि क्षेत्रीय रूपमा सशस्त्रको रिजर्भ टोली रहनेछ । प्रत्येक निर्वाचन क्षेत्रमा समेत तीनवटा स्ट्राइक टोली राख्ने योजना छ ।
सबै जिल्लाका निर्वाचन बुथको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीले पाएको छ । सुरक्षा योजनाअनुसार ६७ हजार कुल जनशक्तिमध्ये ४८ हजार निर्वाचन सुरक्षामा परिचालित हुनेछन् । ४५ हजार म्यादी प्रहरीसमेत नेपाल प्रहरीको कमान्डमा खटिनेछ । असोज १ गतेबाटै प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गरिसकेको छ । म्यादी छनौटको जिम्मा अञ्चल प्रहरी कार्यालयले पाएको छ । म्यादी भर्ना तालिकाअनुसार १४ गतेसम्म आवेदन लिएर कात्तिक पहिलो साता छनौट गरी दुई महिनालाई नियुक्त गर्ने तयारी छ ।
पूर्वसुरक्षाकर्मीलाई मात्रै म्यादीमा लिने सरकारको योजना भए पनि आवेदन कम आउनसक्ने आशंका गर्दै ‘२० देखि ५० वर्ष उमेर समूहका सर्वसाधारणले समेत आवेदन दिन पाउने’ व्यवस्था गरिएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई म्यादीमा पूर्वसुरक्षाकर्मी, निजी सुरक्षा गार्ड, प्रहरीमा जाँच दिएर फेल भएकाहरूलाई प्राथमिकता दिनेगरी भर्नाको अनुमति दिएको एक अधिकारीले जानकारी दिए । म्यादी नै सुरक्षा चुनौती नहोऊन् भन्दै उनीहरूको स्थायी बसोबास भएका जिल्लामा परिचालन नगर्ने सरकारको रणनीति छ ।
सरकारले अछाम, बाजुरा, कञ्चनपुर, कैलाली, मुगु, रुकुम, बर्दिया, सुर्खेत, गोरखा, धादिङ, बाँके, मकवानपुर, सिन्धुली, चितवन, पाँचथर, मोरङ, तेह्रथुम, धनकुटा, सुनसरी, जाजरकोटलाई संवेदनशील सूचीमा राखेको छ । धनुषा, महोत्तरी, सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, दाङ, रौतहट, ताप्लेजुङ, नवलपरासी, कपिलवस्तु, रूपन्देही, प्युठान, रोल्पा र कालिकोट अतिसंवेदनशील सूचीमा छन् ।
निर्वाचनको विपक्षमा उभिएका मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी लगायत चुनावविरोधी शक्ति, विभिन्न सशस्त्र समूह, आपराधिक समूह, जातीय र क्षेत्रीय पार्टीको पकड, भारतसँग जोडिएका सीमा लगायत आधारमा सुरक्षा संगठनको प्रतिवेदनअनुसार गृहले यो सूची तयार पारेको हो । यसको निम्ति क्षेत्रीय र केन्द्रीय स्तरमा बृहत गोष्ठी गरिएको हाम्रा कुरा डट कम ले समाचारमा लेखेको छ् ।