भदौ २ गते आईतबार सिङ्ल्हामा म्हेन्दोमाया प्रतियोगिता ,पहिलो हुनेलाई ३० हजार नगद पुरस्कार

322 पटक पढिएको

सम्पादक: Dhading News

  • बुद्धिमान वाईबा

धादिङ ३१ साउन २०८१ । तामाङ जातिको मौलिक कला संस्कृति लाई संरक्षण अनि प्रवर्द्धन गर्ने हेतुले म्हेन्दोमाया कलाकार संघ नेपाल केन्द्रीय कार्यसमिति द्वारा नुवाकोट धादिङ र रसुवाको सिमानामा रहेको धार्मिक तथा पर्यटकीय स्थल सिङ्ल्हामा यहि मिति २०८१ भाद्र २ गते  खुल्ला म्हेन्दोमाया प्रतियोगिता हुने भएको छ ।

गुरु पद्य संभवले सिद्धि प्राप्त गर्नु भएको प्राचिन धार्मिक तिर्थ स्थल सिङ्ल्हामा भाद्र पूर्णिमाको दिन अर्थात् जनैपूर्णिमाको दिन मेला लाग्ने गर्दछ यस वर्ष भदौ २ गते मेला लाग्ने र सोही अवसरमा म्होन्दोमाया कलाकार संघ नेपालले खुल्ला म्हेन्दोमाया प्रतियोगिता गर्न लागेको हो ।प्रतियोगितामा धादिङको खनियावास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङको प्रमुख आतिथ्य रहने छ ।

प्रतियोगितामा प्रथम हुनेले ३० हजार, दोश्रो हुनेले २० हजार र तृत्तियले १० हजार नगद पाउनेछन् । प्रतियोगितामा हरेक टिममा घटीमा ५ जना र बढीमा १२ जना हुने बताईएको छ ।लोप उन्मुख तामाङ मौलिक तथा लोक भाकाहरुको जगेर्नाका साथै लुप्त अवस्थामा रहेका स्थानिय प्रतिभाहरुलाई पहिचान गराउनको लागि धार्मिक तथा पर्यटकिय स्थल सिङ्ल्हामा  म्हेन्दोमाया प्रतियोगिता हुन लागेको नेपाल तामाङ कलाकार संघका बरिष्ठ उपाध्यक्ष रोशन फ्युवा तामाङले धादिङ न्यूजलाई वताउनु भयो ।


 प्रतियोगितामा जुनसुकै ठाउँ बाट पनी आएर भाग लिन सकिने र प्रतियोगिलाई खाना बस्न काे ब्यबस्था रहेको छ भने सुत्नको लागि आवश्यक ओढ्ने ओछ्याउने भने आंफैले व्यवस्था गर्नुपर्ने आयोजक संस्थाले जनाएको छ ।म्हेन्दोमाया प्रेमी, कलाकार, स्थानिय लगायत सम्पूर्णमा हार्दिक निमन्त्रणा सँगै कार्यक्रममा सहभागी जनाई आफ्नो अमूल्य योगदान गरि तामाङ जातिमा प्रचलित म्हेन्दोमाया (संगीत र नाच) जगेर्ना अनि प्रवर्द्धनमा साथ दिन आयोजकले आग्रह गरेको छ ।

धादिङको खनियाबास र रुवीभ्याली, नुवाकोटको किस्पाङ र रसुवाको उत्तरगया गाउँपालिकालको सिमानामा रहेको सिङ्ल्हा माने परम्परागत रुपमा धादिङ, नुवाकोट र रसुवासम्मका खासगरी पाँचसय खोला र सातसय खोलाभरका गाउँहरुको आरध्य इष्टदेवीको रुपमा सिङल्हा रहेको जनविश्वास रहि आएको छ ।

लामो समयदेखि बोम्पो र लामाहरु हरेक वर्षको भदौ पूर्णिमाको दिन सिङ्ल्हामा प्रार्थना गर्न जाने प्रचलन रहेको छ । सिङ्ल्हा धार्मिकस्थलमा हरेक वर्ष बोन्बो अर्थात झाक्रीसंग लामा सहित हजारौं भक्तजनहरु दर्शनका लागि पुग्ने गर्दछन । बोन्वो सहितको मेला हरेक बर्षको जनैपूर्णिमा दिन लाग्ने गर्दछ । मेला हेर्न धादिङ जिल्लाका मात्रै होइन छिमेकी जिल्ला रसुवा, नुवाकोट, गोरखा, काठमाण्डौका साथै विदेशी पर्यटकहरु समेतपुग्ने गर्दछन  ।

 काठमाण्डौबाट गल्छी- त्रिशुली देवीघाट बट्टार त्रिशूली सोलेबजार सातदोबाटो किस्पाङ काहुले भाल्चे गोङ्गासम्म मोटर बाटो रहेको छ । सातदोबाटो सम्म पक्कि पिच सडक ८० किमि र बाँकि ३० किमि किस्पाङ गाउँपालिकाको बडा नं १ स्थित बाल्ची भाल्चे हुँदै गोङगा भञ्ज्याङसम्मको करिव ११० किलोमिटरक सडक यात्रा तय गर्नुपर्दछ । काठमाण्डौंबाट विहान भाल्चेको लागि नियमित बस छुट्ने गर्दछ ।

गोङगा भञ्ज्याङ बाट करिव साढे तीन घण्टाको उकालो जंगल भित्रको जैविक पदयात्रा पछि धादिङ नुवाकोट रसुवाका तामाङहरूको भेडा च्याङ्ग्रा तथा गाई गोठहरू रहेको प्राकृतिक सुन्दरताले भरिएको रुपचेत पुगिन्छ । यहाँ बास बस्न गोठहरुको व्यवस्था छ । रुपचेतबाट   करिव डेढ घण्टा उकालो हिँडेपछि सिङल्हा माने रहेको टाकुरोमा पुग्न सकिन्छ ।

 नजिकै मुस्कुराईरहेका गणेश र पाविल हिमालसंग सामिप्य हुंदै प्राकृतिक सुन्दरताका मनोरम दृष्य अवलोकन गर्दै, उकालो चढ्दै अघि बढ्नु पर्दछ । ठाउँ ठाउँमा भेटिने भेडीगोठले गाउँबस्तीको न्यास्रो मेटाईदिन्छ । यात्राका क्रममा भेटिने हरियो जंगल, सिमसिम पानी, मसिनो हावाको गतिसँगै लेक चढिरहेका बादलले आनन्दित बनाउने गर्दछ ।