पर्यटनको प्रचुर सम्भावना रहेको ऐतिहासिक “कान्द्राङगढी”

208 पटक पढिएको

सम्पादक: Dhading News

 केशव अधिकारी

 कान्द्राङगढी (चितवन ) ४ भदौ २०८१ । पर्यटनको प्रचुर सम्भावना रहेको धादिङ र चितवन जिल्लाको सिमानामा रहेको ऐतिहासिक किल्ला कान्द्राङगढी पुनःनिर्माण गरिएको छ । संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको  गढीको पुरातत्व विभागले पुनःनिर्माण गरेको हो ।

चितवन र धादिङको सीमा क्षेत्रमा रहेको यो गढी  चितवनको राप्ती नगरपालिका–१३ को कान्द्राङमा पर्छ । गढीलाई धादिङको वेनिघाट रोराङ वडा नम्बर २ ले पनि छोएको छ । गढी तीन सय २२ मिटर क्षेत्रफलमा फैलिएको  छ ।

ऐतिहासिक महत्व बोकेको गढी नेपाल एकीकरण हुनुभन्दा पहिले तत्कालीन सेन शासकको पालामा निर्माण भएको जनविश्वास रहेको छ। समुद्री सतहबाट १ हजार ४५० मिटरको उचाइमा रहेको कान्द्राङगढी संरक्षण हुन नसक्दा धेरै बर्ष देखि ओझेलमा पर्दैै आएको थियो ।गढीबाट धादिङ, मकवानपुर, गोरखा र चितवन जिल्लाका विभिन्न भूभाग सजिलैसँग देख्न सकिन्छ ।

 

चितवन र धादिङको सीमा क्षेत्रमा रहेको यो गढी  संरक्षणका लागि चितवनको राप्ति नगरपालिकाले  पुरातत्व विभाग संग समन्वय गरि पहल  गरेको हो ।नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार ३५ लाखमा बजेटमा गढीमा पर्खाल निर्माण, मर्मत र उत्खननका काम गरिएको छ । त्यहाँ भएका संरचनालाई संरक्षण गर्दै व्यवस्थित गर्ने काम गरिएको नगर प्रमुख लामा बताउनुहुन्छ ।

‘गढीमा भग्नावशेष संरचना पुरानै आकारमा छन्, त्यसलाई जुन वस्तुशैलीमा छन् त्यस्तै बनाएका छौं,’ प्रमुख लामाले भने । गढीको संरक्षणका लागि नगरपालिकाले सडक निर्माण र अन्य व्यवस्थापनका काम गरिएको नगर प्रमुख लामाले वताउनु भयो ।

‘प्रारम्भिक कामका रूपमा जीर्णोद्धार गरिएको छ,’ प्रमुख लामाले भन्नु भयो , ‘त्यसपछि आवश्यकताका आधारमा अन्य संरचना निर्माण गरिनेछ ।’ ऐतिहासिक किल्ला भएका कारण यसको संरक्षणमा नगरपालिकाले प्राथमिकता दिएको लामाको भनाइ थियो ।

जीर्ण अवस्थामा रहेको गढीमा चारैतिर ढुंगाको पर्खाल लगाइएको छ भने गढीनजिकै एउटा मौलो र साना-ठूला गरी चारवटा सुरूङ देख्न सकिन्छ। ठूलो मुख्य गढी ५०/६० जना अटाउने र सानो सहायक गढी उत्तरपट्टि छ । गढी वरपरका केही सुरुङबाट तातो बाफ आउने गरेको स्थानीय बासिन्दा बताउँछन् ।कान्द्राङगढीमा सेनकालीन समयमा निर्माण गएिको र त्यतिबेला राज्यको सुरक्षाका लागि बनाइएका संरचना छन् । लिखितरूपमा ऐतिहासिक तथ्य नभए पनि वस्तुशैली हेर्दा पृथ्वीनारायण शाहले विभिन्न राज्य आक्रमण गर्दा चितवन र मकवानपुर निस्कने नाकाका रूपमा यस गढीलाई प्रयोग गरेको स्थानीयवासी बताउँछन् ।

गढी रहेको स्थानबाट धादिङ, मकवानपुर, गोरखा र चितवन जिल्लाका विभिन्न भूभागहरु सजिलैसँग देख्न सकिन्छ। तत्कालीन सेन शासकले पनि धादिङ, गोरखा र नुवाकोटतर्फबाट दुश्मनले आक्रमण गर्न नसकून भनेर कान्द्राङमा गढीको निर्माण गरेको हुन सक्ने जनविश्वास रहेको छ।

तत्कालीन सेन वंशहरूको राज्य रहेको मकवानपुर राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेर गोरखा राज्यमा गाभेको इतिहासका पुस्तकमा उल्लेख गरेको पाइन्छ। पृथ्वी राजमार्गको मलेखुबाट चितवनको भण्डारा जोड्ने मलेखु–भण्डारा(चेपाङ मार्ग) सडकखण्डको छेवैमा पर्ने कान्द्राङगढीलाई संरक्षण र प्रचारप्रसार गर्न सके पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने  र यसबाट चितवन र धादिङ जिल्लालाई प्रत्यक्ष लाभ हुने धादिङको वेनिघाटरोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले वताउनु भयो । भौगोलिक रुपमा गढी चितवन जिल्लामा परेपनि धादिङवासीको पनि भावनात्मक सम्वन्ध रहेको उपाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ ।

पृथ्वीराजमार्गको मलेखुबाट २२ किलोमिटर र पूर्वपश्चिम राजमार्गको भण्डाराबाट ४२ किमीको दूरीमा कान्द्राङगढी पर्दछ । चीनको केरुङ, रसुवा, गल्छी, मलेखु हुँदै भारतको ठोरी नाका जोड्ने गरी निर्माणाधीन सडकसँगै यो गढी जोडिएको छ। भण्डारा–मलेखु चेपाङ मार्गबाट एक किमीको दूरीमा कान्द्राङगढी रहेको छ  । कान्द्राङ गढीलाई संरक्षण र प्रचारप्रसार गर्नसके यो ठाउँलाई  चेपाङ संस्कृति, परम्परा र जनजिवन संग जोडेर पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने नेपाल चेपाङ संघका पूर्व केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङले वताउनु भयो ।

केही वर्षअघिसम्म गढीमा शिलालेख रहेको भए पनि संरक्षण हुन नसक्दा ती शिलालेखहरू अहिले हराइसकेको बेनिघाट रोराङ गाउँपालिका-२ का पूर्व अध्यक्ष टंकबहादुर थापा बताउनुहुन्छ । ऐतिहासिक महत्व बोकेको गढी संरक्षणका निम्ति स्थानीय सरकारमार्फत कार्य योजना बनाएर अघि बढ्नु पर्ने पूर्व वडाअध्यक्ष थापाको सुझाव छ ।

वर्षौंदेखि संरक्षण हुन नसकेर जीर्ण हुनुका साथै घाँस र झाडीले छोपिएको गढीको भग्नावशेषको खोजी गर्दै नेपाली सेनाको गजुरीस्थित देवीदत्त गणबाट खटिएको टोलीले २०७६ साल पुसमा दुई दिन लगाएर गढीको भत्किएको पर्खाल लगाउनुका साथै सरसफाइ गरेको थियो।

 

मुलुकको स्वाधीनता र अखण्डतासँग जोडिएको महत्वपूर्ण धरोहरका रुपमा रहेको गढीको पुनर्निर्माण र संरक्षणलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने भए पनि ऐतिहासिक महत्व बोकेको कान्द्राङगढीको संरक्षणका लागि अहिलेसम्म राज्यका तर्फबाट कुनै चासो नदेखाइएको साहित्यकार उत्तम कँडेल बताउनुहुन्छ । कान्द्राङगढीलाई संरक्षण गरी यो ठाउँको बारेमा प्रचार प्रसार गर्न सके आन्तरिक पर्यटकको आकर्षण बन्न सक्ने उहाँको सुझाव छ ।