मिसन सगरमाथा: सोलुखुम्बु बसेर खुम्बुको यात्रा
589 पटक पढिएको
निरञ्जन रुपाखेती
सगरमाथा आधार शिबिर पुग्ने कैयौं पदयात्रा प्रेमीको रहर र सपना रहेको हुन्छ। त्यस्तै सपना पुरा एउटा संस्थाको रोजगारीको अवसर स्वीकार गर्दै सोलुखुम्बु जिल्ला प्रवेश गरेको थिए। संस्थाले दिएको जिम्मेवारी पुरा गर्दै सगरमाथाको जिल्ला सोलुखुम्बु बासि दाजुभाई दिदि बहिनि संग सगरमाथा आधार शिबिर जाने रहर सुनाउदै जाने उपयुक्त समय र यात्रामा साथ दिन साथीहरु खोज्दै थिए। सोलुखुम्बुमा कार्यरत रहँदाको अवधिमा सगरमाथा आधार सिविर पुग्छु भन्ने दृढ मनोकामना रहेको थियो । एक्लै भएपनि पुग्छु भन्ने आँट रहेको भएतापनि कोहि साथि वा समुह भए यात्रा रोमाञ्चक हुन्छ भन्ने अभिप्रायले सम्भाव्य साथिहरुसंग सल्लाह पनि गर्दै खुम्बु पदमार्गको बारेमा आवश्यक जानकारिहरु संकलन गरिरहेको थिए। गत वर्ष सोलुखुम्बु छोड्ने योजना बनाएपछि जसरि भएपनि अब आधार शिबिर पुग्नु पर्छ भनेर संस्थाकै पुर्व सहकर्मी बिकाश जी संग योजना सेयर गरेर २०८० सालको घटस्थापनाको दिन हिड्ने निधो गरियो। यात्रा गर्ने मिती पक्का गरेपछि सम्भाव्य अन्य साथि, सहकर्मीसँग पनि छलफल गरियो तर चाडवाडको बेला तथा कार्यव्यस्थताले संगै यात्रा गर्न सम्भव नभएपछि दुइ भाइ मात्रै हिड्ने निधो गर्यौ। सोलुखुम्बु मा रहेर कार्यरत अन्य साथीहरु दशैँ मनाउन काठमाडौँ हुदै आ-आफ्नो घर जाने योजना सुनाउदा मा भने मेरो सपनाको यात्राको योजना सुन्दै बस्थे, जुन निकट दिनमा पुरा हुने थियो।
आवश्यक लत्ताकपडा लगाएतका सामाग्री पहिल्यै जोरजाम गरेर राखिसकेको भएकाले धेरै किनमेल गर्नु थिएन मलाइ केबल थियो त हिड्ने दिनको पर्खाइ। यात्रामा जाने बारेमा कार्यक्षेत्रमा रहेका स्थानीयलाई सुनाउँदा खुम्बु क्षेत्रमा नेपालि पदयात्रिलाइ विगतमा परेका समस्याबारेमा उहाँहरुले सुनाउँनु हुँदा समेत जे पर्छ त्यहि भोगौला तर यात्रा सकेर फर्कन्छु भन्ने संकल्प गर्दै रहे। दिनको पर्खाइमा रहँदै आफ्नो कार्य दायित्व पुरा गर्नको लागि फिल्डमा हिड्दै गर्दा यात्राको एक हप्ता अघि मर्किएको खुट्टाले केहि दिन मनमा तनाव दिएको थियो। तर केहि दिनको सल्लेरि बसाइ पश्चात दुखाइ कम भएपछि यात्रा गर्नसक्छु भन्ने उच्च मनोबल कायम भयो। दशैको सम्मुखमा माप्यमा केहि महत्वपुर्ण कार्यक्रम सकाउँछु भन्ने योजना लुक्लाको हवाइ स्थगित हुँदा भएको सवारिसाधनको चापले गर्दा सम्भव नभएकाले सल्लेरि बसाइ खुट्टाको दुखाइ निवारणका लागि फलदायि सावित रह्यो । सल्लेरि बसाइका क्रममा सगरमाथा आधार सिविर पदयात्राका बारेमा आवश्यक जानकारि लिनको लागि युट्युबमा रहेका भिडियो तथा उपलब्ध लेखहरु अध्ययनमा समय बिताए। यात्राका लागि विकास जि संग आवश्यक समन्व्य गर्दै उहाँलाइ घटस्थापनाको अघिल्लो दिन सल्लेरीमा स्वागत गर्दै भोलि देखि सुरु हुने यात्राका लागि केहि सामाग्रि खरिद गरि सल्लेरिमा बास बस्यौ ।
पर्खाई अब भोलिको दिनको थियो जुन दिन हामी हाम्रो सपनाको गन्तव्यमा अगाडी बढ्ने थियौ। कतिपयको यस्ता सपना सपनामै सीमित भएको हुन्छ त कतिपयले सपना पूरा गर्ने मौका खोजिरहेका हुन्छन्। हामीले मौका पाएका थियौ।
भोलिपल्ट सल्लेरी देखि थामडाँडा सम्म जाने गाडी अघिल्लो दिनमै बुक गरेकोले टिकट काउन्टरले भने बमोजिमको समयमा गाडी छुट्ने स्थान आवा डाँडा पुग्यौ। नेपाली समय न हो भनेको समयमा कहाँ सबै थोक सुरु हुन्थ्यो र। करिब एक घण्टा त्यहाँ कुरेर बसेपछि बल्ल हामीलाई लिएर सुमो गाडी थामडाँडा यात्राको लागि प्रस्थान गर्यो। सल्लेरी बाट सिलगुरी डाँडा हुदै कागतेमा खाजाका लागि रोकियौ। कागते त्यो रुटमा जाने गाडीहरुको खाजाको लागि प्रख्यात स्थान हो। कागते बाट ओरालो झरेको कच्ची बाटोले महभीर हुदै देबिस्थान पुगेर तेर्सो बाटो भेटाउँछ। माप्या दुधकोशी गाउपलिकामा पर्ने यी स्थानहरु कार्यक्षेत्र रहेको हुदा बिकाश जीलाई त्यहाको बारेमा बताउदै गए। सुम्निमा चोकमा रहेको कोठाबाट ट्रेकिंगको लागि तयार परेको झोला गाडीमा राखेपछि खास्ताप, दाम्कु, खाली हुदै अँधेरीमा रहेको झुम्के होटलमा खान खायौ। झुम्केमा रहेको अँधेरी खोलामा मोटरेबल पुल नहुदा केहि समय अगाडीसम्म बर्खाको समयमा सल्लेरी हुदै गएको गाडी अधेरिमा रोकेर झोलुंगे पुल तरेर पारि बाट अर्को गाडीमा जानुपर्ने बाध्यता ऐले भने हटेको छ। झुम्के होटलमा खान खाएपछि केहि ओरालो झरेर दुधकोशिमा रहेको खुम्बु माप्या मितेरी पुल तरेपछि निरन्तर उकालो बाटोको यात्रा सुरु हुन्छ। जुभिंग, खरिखोला हुदै रमाइलो डाडामा करिब ८ घन्टाको गाडी यात्रा सकिन्छ। अब त्यहाबाट पैदल यात्रा सुरु गर्नु पर्ने हुन्छ।
मोटरबाटो माथि थामडाँडा सम्म जाने भएपनि कच्ची र खच्चडको हिडाईले हिलो धेरै भएकोले पैदल यात्रा छोटो बाटो हिड्नु नै उपर्युक्त हुन्छ। हिडाई सुरु भएको सुरुवातमै भेटिने करिब १५ मिनेटको ठाडो उकालोले सुरुमै थकायो। सल्लेरी चौरीखर्क सम्म पुग्ने गरि सडक बनिरहेको भएता पनि पहाडी चट्टानी भूगोलका कारण निर्माण कार्यमा विस्फोटक पदार्थ प्रयोग गर्नु पर्दा निर्मण कार्य सुस्त देखिन्थ्यो। निर्माणाधिन बाटोको कारण थामडाँडा देखि पैया निस्कने पुरानो पदमार्ग बन्द रहेको र नयाँ रुटमार्फत जाँदा ३ घण्टा भन्दा धेरै लाग्ने अफ्ठेरो जंगलको बाटो हिलो धेरै हुने भएकाले रातिमा नहिड्नु उत्तम हुने स्थानीयको सल्लाह अनुसार थामडाँडामा त्यो रात बास बसियो । सडक सञ्जालले कम्तिमा लुक्लासम्म जोडिदा त्यसले भोलिको दिनमा अझ बढि पर्यटक भित्र्याउन र सस्तोमा खाद्यान्न लगायत पाइने भएकाले धेरै नेपालिको गन्तव्य बन्न सक्ने छ।
चिसो थामडाँडामा मिठो निद्र पछि बिहान ६ बजे उठेर यात्रा सुरु गर्यौ। सडक निर्माणको क्रममा पुरानो पदमार्ग पुरिएकोले हामीले नयाँ बाटो हुदै जानु पर्नेमा हामीले कहाँ बाट अर्को बाटो जाने मेसो नपाउदै सडक बाटो रोकिएको ठाउमा पुग्यौ। अब हामीलाई फर्किनु या त्यहि असजिलो बाटोमा चुनौतिका साथ झरेर पुरानो पदमार्ग हुदै हिड्नु थियो। संयोगले हामीले केहि भरिया हरु भेट्यौ जो त्यहि बाटो हुदै जाने भनेर हामीलाई सल्लाह दिदै हुनुहुन्थ्यो। उहाहरुको सल्लाह स्वीकार्दै उहाहरुको सहयोगमा हामी त्यहि बाटो झर्यो र पुरानो पदमार्ग हुदै पैंया पुग्यौ। यसरि झर्दा हामीले ३ घण्टा लाग्ने समय २० मिनटमा पार गर्यो। त्यहाँ भेटिएका गाइड हरुलाई धन्यबाद दिएर हामी आफ्नै सुरमा हिड्यौ। पैयामा कफी पिएर छेउबास पुग्यौ जहाबाट ओरालो बाटो सुर्के सम्म झर्नु थियो। बाटोमा भेटिएका देखिएका खच्चडका बथान र गोठ देख्दा त्यहाँ खच्चडको महत्व उच्च रहेको देख्न सकिन्छ। सडक बाटोले नछोएको कारण खुम्बु क्षेत्रको ढुवानी भरिया, खच्चड या हेली मार्फत हुने गर्दछ। बाटोमा भेटिएका एकजना गाइडले हामिलाइ यस्तो महंगो यात्रा गर्नु मुर्खता हो भन्दै खिन्न बनाइदिएपनि उनको कुरालाइ वास्ता नगरि संगै जसो अगाडि बढ्यौ। उहाको ट्रेकिंगमा लामो अनुभवले पनि त्यसो भन्नु भएको होला तर यात्राका क्रममा उहाका अनुभवका किस्सा सुन्न रमाइलो थियो।
ओरालो झर्दै गर्दा घुडाको पुरानो दुखाई बल्झियो जसको कारण हिड्न कठिनाई सुरु भयो। विस्तार विस्तार सुर्के खोलामा बनेको फलामे पुल तरेर उकालो लागेपछि चौरीखर्क पुगेर खाना खान बस्यौ। खानाको लागि कुर्दै गर्दा त्यहासम्मकाे थकान मेटाएर अगाडिको यात्रालाई आफुलाई तयार गर्यौ। चौरीखर्क बाट अगाडी लागेपछि चोप्लुंग आइपुग्छ जुन लुक्ला बाट आउने बाटोमा जोडिन्छ। त्यसपछि फराकिलो बाटो र प्रसस्त पदयात्रीहरु भेटिने रहेछ। चोप्लुंग, ठाडो कोशी, घाट हुदै फाक्दिंग पुगेर खाजा खायौ। फाक्दिंग आउने जाने र बास बस्ने पर्यटकहरुको चहलपहल ले गुन्जायमान देखिन्थ्यो। फाक्दिंग बस्ने योजनाले दिनको यात्रा सुरु गरेको भएता पनि दिनको उज्यालो अझै धेरै बाकि रहेको हुदा भोलिको लागि केहि बाटो छोट्टीने भएकोले टोकटोक पुगेर बास बस्यौ।
यात्राको तेस्रो दिन नाम्चे पुग्ने योजना अनुरुप चिया र चम्पा (सातु) खाएर अगाडी बढ्यौ। बिहानको हाम्रो यात्रामा आधा घण्टा पनि नहिड्दै अकस्मात परेको पानिले बिथोल्यो। बैंकरमा एक घण्टा ओत लाग्दा सम्झिदा सम्झिदै बिर्सिएको रेनकोटको याद आयो। अब के गर्ने भन्ने अन्यौलाताका बिच आफुसंग रहेको पानि नछिर्ने ज्याकेट लगाएर केहि अघिसम्म जाऔ त्यसपछि पनि पानि नरोकिए बसौला भन्ने सल्लाह गरेर केहि अगाडि पुगेर एउटा पसलमा चिया खानको लागि बस्यौ। आगो तापेर पानिले हल्का भिजेको ज्यानलाइ तातो चियाले न्यानो बनाउँदै बाहिर अवलोकन गर्दा अब तर्साउने पालो डाँडाहरुमा देखिएको हिउँको थियो । यस्तै मौसम रहिरहे नाम्चे नपुगिने, हिलोमा हिड्न गाह्रो हुने लगाएतको सल्लाह गर्दै चिया सकाउँदा सम्म मौसमले खुल्ला हुने संकेत गरेपछि खुसि हुदै चिया सकाएर पुनः अगाडि बढ्यौ। १ घण्टा बिथोलिएको यात्रालाइ मौसम खुलेपश्चात देखिएका सेता हिउँ अनि पारिलो घामले उत्साहमा परिणत गरिदियो। बेङ्कर देखि छुमावो हुदै मञ्जो पुगियो जहाँ सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार रहेको छ। छुमावो र मोञ्जोमा स्थानिय सरकार र विभिन्न दातृ निकायको सहकार्यमा खानेपानि योजना सहित आगलागिजन्य विपद नियन्त्रणका लागि सूचना सहितको फायर हाइड्रेन्ट ठाउँठाउँमा राखिएको देख्दा खुसि लाग्यो। त्यति विकट स्थानमा सम्भव रहेको कुरा अन्य सुगम स्थानिय तहले किन गर्न सकेन्न भन्ने प्रश्न पनि मनमा उब्जियो। आखिर काम गर्न भुगोल हैन इच्छाशक्ति चाहिन्छ सायद। मोञ्जोमा प्रबेस टिकट लिएर जोरसल्ले हुदै प्रख्यात हिलारि पुल रहेको लार्चे दोभान पुगियो। त्यहाँ एकछिन आराम पश्चात ज्यानलाइ नाम्चे उकालोको लागि तयार पारेर पुनः यात्रा सुरु गर्यौ। हिलारि पुल तरेपछि निरन्तरको उकालो बाटोमा सोचेजति हिड्न ज्यानले नसक्ने, त्यसमाथि घुडाको दुखाई, एक छिन हिडाइ एक छिन बसाइ गर्दै मध्य दिनमा नाम्चे बजार पुगियो।
नाम्चे सुन्दा जति सुन्दर लाग्छ त्यहि पुगेर अवलोकन गर्दा अझ मनमोहक लाग्दछ। नाम्चे बजार खुम्बु क्षेत्रको उच्च हिमालय आरोहणद्वार र त्यस क्षेत्रको पदमार्ग हरुको संगम पनि हो। यहाँबाट विभिन्न हिमाल प्रवेशको पदमार्ग सुरू हुन्छ। फराकिलो ढुंगाले छापेको हिड्ने बाटो उत्तिकै सफा नाम्चेले अन्य सुगम स्थानमा रहेका बजार हरुलाई गिज्यैरहेको भान भयो। आधुनिक सुविधाको पहुँचमा हिमालको काख र आधुनिकतामा झुमेको नाम्चे बजारले जो कोहीलाई तानिरहेको हुन्छ। जहाँ आवयक सबै सुबिधा उपलब्ध भएर पनि तार रहित बजार थियो त्यो, सबै तार भूमिगत। सगरमाथा क्षेत्र पदयात्राको प्रवेशद्वार नाम्चेमा अधिकासं बिदेशी पर्यटक देखिन्थे भने नेपाली अनुहार चाही गाइड, भरिया, ब्यबसाय संचालक र सिमित संखायाका नेपाली पदयात्री।
भोकले लखतरान भएको हुदाँ पहिलो प्राथमिकता खाना खानु रहेकोले पहिल्यै सम्पर्क गरिएको स्थानमा खानाको लागि पुग्यौ । टोकटोक बाट यात्रा सुरु गर्दा नाम्चे अगाडी सन्सा पुगेर बास बस्ने योजना भएता पनि थकानका कारण नाम्चेमै आराम गर्ने निर्णय गरियो। खाना पर्खिन्जेल निन्द्रले झुपझुप बनाइरहेको थियो। त्यहाँ भेटिएका गाइडहरुसंग भलाकुसारि गर्दै खाना खाएपश्चात त्यहि भेटिएका दिनेश जि लाइ होटल बुझ्नका लागि अनुरोध गर्यो। जो त्यहाँको होटलहरुको तथ्यांक संकलन गर्ने कर्मचारि समेत रहनुभएकाले हामिलाइ होटल भेट्न सजिलो भयो।
नाम्चे मा स्लिपिंग ब्याग भाडामा पाइन्छ भन्ने बुझेकोले तलदेखि बोकेका थिएनौ। केहि बेर नाम्चे बजार घुमेर होटल फर्कियौ। जहाँ सगरमाथा बेस क्याम्प यात्रामा आउनु भएको वकिल संग चिनजान भयो। आगोको छेउमा बसेर चिनापरिचय गर्दै उहाँ संग गाइड रहेको कारण संगै साथी लागेर जाने निर्णय गर्यौ।
बिहान खुलेको मौसममा टलक्क टल्केको कोंग्दे हिमालको दर्शनले दिन सुखद हुने संकेत जनायो। बिहानको चिया नास्ता पछि हिजोको निर्णय बमोजिम पांग्बोचे बास बस्ने गरि हामी २ बाट ४ भएर संगै निस्कियौ। नाम्चे बजार बाट केहि उकालो लागेपछि स्यांगबोचे जाने उकालो र अर्को तेर्सो बाटो छुट्टीन्छ। उकालो बाटो गए खुम्जुंग हुदै सन्सा गाउँ पुगेर त्यो बाटो भेटिन्थ्यो, जुन लामो र उकालो हुने भएकोले हामीले तेर्सो बाटो रोजेर अगाडी बढ्यौ।
केहि बेरको फराकिलो तेर्स्रो बाटोको यात्रामा देखिएका सयौ पर्यटकको लावालस्करमा मिसिदै गन्तव्यतर्फ बढ्दा केहि परबाट सगरमाथा, नुप्त्से, लोत्से लगायतका हिमालको पहिलो नजिक दृश्यावलोकन गर्ने भ्यु प्वाइन्टमा फोटोसेशन गरि अगाडि बढ्यौ। यात्रामा देखिएका युवा देखि बृद्धवयका विदेसी पर्यटकहरु देख्दा हिडाईमा थप उर्जा मिलिरहेको थियो। यात्रामा अगाडि बढ्दै जाँदा थामसेर्कु हिमाल दायाँ पर्थ्यो भने सगरमाथा लगायतका हिमालहरु नजिक पर्दै आएको भान हुन्थ्यो। सन्सा बाट ओरालो झरेपछि फुंकी थान्का पुगेर खाना खाएर तेंग्बोचेको उकालोको लागि ज्यानलाई तयार गर्यौ। निरन्तरको उकालो चड्दै गर्दा पर क्षितिजमा बदलिएको मौसमले अत्याउन थाल्यो।
जसै उकालो सकेर तेंग्बोचे पुग्यौ हिउँले स्वागत गर्यो। बाक्लो हिउँ परेर गन्तव्य नपुग्ने तनाव भएतापनि पहिलोपटक देखिएको हिउँ पर्दाको दृस्य संग एकछिन रमाएर अगाढी बढ्यौ। तेंग्बोचेमा सताब्दियौ पुरानो गुम्बा रहेको भएतापनि पांग्बोचे पुग्नुपर्ने भएकाले हिउँ रहेपछि त्यहाँ को गुम्बालाई बाहिरै बाट दर्सन गरेर दिबोचे सम्म ओरालो अनि तेर्सो बाटो हुदै पांग्बोचे पुग्यौ। बाटोमा भेटिएका गाइडसँग गफिदै पाङ्वोचेको लागि जादै गर्दा झारलको समुहले स्वागत गर्यो। पाङ्वोचेको झोलुङ्गे पुल तरेपछि खुलेको मौसममा बादल सँग लुकामारी खेलेको आमादब्लम हिमालको मनमोहक दृष्यले यात्रामा अझै जोश थप्यो। पांग्बोचे पुगी आगोको छेउमा बसेर ज्यानलाई तताउदै त्यहाँ भेटिएका गाइड दाजु भाइहरु संग अबको बाटो र गन्तव्यको बारेमा छलफल गर्यौ।
स्लिपिंग ब्याग भित्रको पहिलो अनुभब, चिसो स्थान, अनि हिडेको थकाइले रातमा गहिरो निद्रा नपरेकोले बिहान सबेरै उठेर फ्रेश हुन थालियो। बिहानिको घाममा मस्त खुलेको विभिन्न हिमश्रृङखालको फोटो भिडियो गरि अघिल्लो रात भएको सल्लाह अनुसार हामिले पाँचौ दिनको गन्तव्य थुक्ला (४६२० मि) निधो गरि बिहानको खाजामा स्थानिय सातु खाएर सोमारेको उकालो चड्दा बिहानको घामले खल्खलि बनायो। यो यात्रामा सबैभन्दा सुन्दर देखिने आमादब्लम हिमालले निरन्तर पछ्याउँछ। सोमारेको उकालो सकिएपछि आउने ठुलो फाँट अनि त्यहाँ बाट देखिने हिमश्रृङ्खलासँग फोटो भिडियो नखिची कसैको पाइला चल्दैन। उक्त फाँटको केहि अगाडी बाट दिंबोचे र फेरीचे जाने बाटो छुट्टीन्छ। दिंबोचे अधिकांस पदयात्रीको उचाई संग अनुकुलित हुन एक दिन बिताउने ठाउँ रहेता पनि अघिल्लो दिनको सल्लाह अनुरुप हामी थुक्ला बास बस्ने योजना अनुरुप फेरिचेको लागि उकालो लाग्यौ। लोबुचे खोला तरेपछि फराकिलो फेरिचे पुगिन्छ। फेरिचेमा हेलिको स्टेशन, अस्पताल लगायतका सुविधा उपलब्ध रहेछ, जहाँबाट अत्यावश्क उद्धार आवश्यक भएका पदयात्रिहरुले सेवा सुविधा पाउने रहेछन्। यात्राको थकान तथा भोकको समयमा निरन्तर सुनिने हेलिको कर्कस आवाजले पनि झर्को अनुभुति गरायो। हामी भन्दा हामी संग रहेका वकिल र गाइड छिटो हिड्ने भएकोले फेरिचेमा उहाहरु पहिल्यै पुगेर खाना अर्डर गरि बस्नु भएको रहेछ। त्यहाँ खान खाएर आराम गरि थुक्लाको उकालोको लागि तयार भयौ। फेरिचेको ठुलो फाँटमा आधा घण्टा हिडेपछि सुरुहुने करिब एक घण्टाको उकालो चढेपछि खुम्बु ग्ल्यासियरको फेदीमा रहेको थुक्ला पुगिन्छ। पांग्बोचे बाटै होटल बुक गरिसकेको हुदा हामी त्यहि होटलमा गएर झोला बिसायौ।
उच्च हिमाली क्षेत्रमा जाँदा लसुन फलदायी हुने भएकोले त्यहाँ पुगेर लसुन सुप मगाएर ज्यान ततायौ। साथि बिकाश त्यहाँ पुग्दा केहि असहज महसुस गरेको जस्तो लगेर उनको अवस्था बारे सोधी गरे, उनले ठिक छ भन्ने जनाउ दिए तर उनमा अन्य दिन भन्दा फरक पन देखिएको थियो। उचाइको यात्रा गरेपछि सिधै कोठामा बस्नु भन्दा बाहिरको हावामा चहलपहल गर्नु त्यहाको मौसम संग घुलमिल हुन् फाइदाजनक हुने भएकोले होटल भन्दा केहि उचाइमा रहेको स्थानसम्म जाने प्रस्ताब बिकाश जी र वकिल सरलाई गरेर एकछिन त्यहाँ पुगेर आफुलाई अनुकुलित बनायौ।
फर्केर होटलमा आउदा पांग्बोचे देखि संगै निस्किएका ४ जना भारतीय पर्यटक पनि आइपुगेका रहेछन। उनीहरु मध्य एकजनालाई अक्सिजनको कमि भएको कारण बाकि साथीहरु अत्तल्लिएका थिए। होटल संचालकले केहि खान खाएर आराम गर्नु त्यसपछि पनि ठिक नभए तल कम उचाइमा रहेको दिंबोचे गएर बस्न सुझाए। केहि बेरमा पनि उनको अवस्थामा सुधार नभएपछि घोडाको व्यवस्था गरि उक्त टोलीलाई दिंबोचे पठाए। होटलमा आगोको छेउमा उनले सुनाएका बिगतका कहानी, भर्खर देखिएको बिरामीको अवस्था देख्दा बिकाश जीलाई पनि उचाइको कारण ग्राहो भएको प्रस्ट बुझेर उनको हाल फेरी सोधे। त्यसपछि मात्र बल्ल उनले केहि अगाडी सम्म समस्या रहेपनि ऐले ठिक रहेको र भोलिको यात्रा गर्न सकिने विश्वास दिलाएपछि बल्ल मन शान्त भयो। उनि यो भन्दा अगाडी पनि बिभिन्न पदयात्रामा गैसकेको भएता पनि उचाइको कारण जहाँ पनि समस्या हुन सक्छ भन्ने त्यो बेला देखि महसुस गर्न सके+उच्च हिमाली क्षेत्रमा जाँदा लसुन फलदायी हुने भएकोले त्यहाँ पुगेर लसुन सुप मगाएर ज्यान ततायौ। साथि बिकाश त्यहाँ पुग्दा केहि असहज महसुस गरेको जस्तो लगेर उनको अवस्था बारे सोधी गरे, उनले ठिक छ भन्ने जनाउ दिए तर उनमा अन्य दिन भन्दा फरक पन देखिएको थियो। उचाइको यात्रा गरेपछि सिधै कोठामा बस्नु भन्दा बाहिरको हावामा चहलपहल गर्नु त्यहाको मौसम संग घुलमिल हुन् फाइदाजनक हुने भएकोले होटल भन्दा केहि उचाइमा रहेको स्थानसम्म जाने प्रस्ताब बिकाश जी र वकिल सरलाई गरेर एकछिन त्यहाँ पुगेर आफुलाई अनुकुलित बनायौ।
फर्केर होटलमा आउदा पांग्बोचे देखि संगै निस्किएका ४ जना भारतीय पर्यटक पनि आइपुगेका रहेछन। उनीहरु मध्य एकजनालाई अक्सिजनको कमि भएको कारण बाकि साथीहरु अत्तल्लिएका थिए। होटल संचालकले केहि खान खाएर आराम गर्नु त्यसपछि पनि ठिक नभए तल कम उचाइमा रहेको दिंबोचे गएर बस्न सुझाए। केहि बेरमा पनि उनको अवस्थामा सुधार नभएपछि घोडाको व्यवस्था गरि उक्त टोलीलाई दिंबोचे पठाए। होटलमा आगोको छेउमा उनले सुनाएका बिगतका कहानी, भर्खर देखिएको बिरामीको अवस्था देख्दा बिकाश जीलाई पनि उचाइको कारण ग्राहो भएको प्रस्ट बुझेर उनको हाल फेरी सोधे। त्यसपछि मात्र बल्ल उनले केहि अगाडी सम्म समस्या रहेपनि ऐले ठिक रहेको र भोलिको यात्रा गर्न सकिने विश्वास दिलाएपछि बल्ल मन शान्त भयो। उनि यो भन्दा अगाडी पनि बिभिन्न पदयात्रामा गैसकेको भएता पनि उचाइको कारण जहाँ पनि समस्या हुन सक्छ भन्ने त्यो बेला देखि महसुस गर्न सके।
थुक्ला बास बस्ने भन्दा पनि बेस क्याम्प पुगेर फर्किने हरुको लन्च गर्ने स्थानको रुपमा परिचित रहेको हुदा त्यति धेरै भिड थिएन। त्यसैले हामीले संचालक संग केहि गफगाफ गर्ने मौका पायौ। त्यहाको पर्यटनको अवस्था, नेपाली पर्यटकको संख्या लगायतमा उनले केहि रोचक कुराहरु सुनाय। उनले देखेका लेक लागेका व्यक्तिको कुरा, भारतीय पर्यटकको हेपाहा प्रवृति, अनि नेपालीको रबैयाको बारेमा विभिन्न कुराहरु सुनाय। खाना खाइसके पछि गफगाफलाइ बिट मार्दै सुत्न गयौ। थाकेर मस्त निदाएको बेलामा अकस्मात आएको हासोले निन्द्र ब्युझायो। ढुंगा माटोले बनेको अनि प्लाई बोर्डले बारेर बनाएको कोठामा पल्लो कोठामा रहेका बिदेशी पर्यटकको चर्को हासो अनि ठुलो स्वरको कुराकानीले निकै बेर सम्म निन्द्र लाग्न दिएन। केहि बेरमा उनीहरुको गफ सकिएपछि बल्ल निदाइएछ।
यात्राको छैटौ दिन थोरै तर उचाइको यात्रा गर्नु थ्यो। थुक्ला बाट करिब ३ किमी दुरीमा रहेको लोबुचेमा बास बस्ने योजना बनाएर हामी उकालो लाग्न थाल्यौ। करिब ३०० मिटरको उकालो काटेर सगरमाथा लगाएतका हिमाल आरोहणका क्रममा ज्यान गुमाएका हरुको स्मृतिमा बनाएको पार्कमा पुग्यौ। त्यहाँ केहि बेर बिश्राम पश्चात तेर्सो तेर्सो बाटो खुम्बु हिमतालको किनारलाई दायाँ पर्दै लोबुचे पुगिने रहेछ। लोबुचे मध्य दिनमै पुगेको र आजको बास त्यहि हुने हुनाले हामी संग प्रसस्त समय थियो। ज्यानलाई केहि वातानुकुलित पनि बनाउन सकिने र विश्वको उच्च स्थानमा रहेको पिरामिड ल्याबको पनि अवलोकन गर्न सकिने भएकोले विकास जी र म त्यसतर्फ लाग्यौ । त्यहाँ पुगेर त्यस ल्याबको सञ्चालान परियोजनाका निर्देशक काजी बिष्ट सर सँग चिनजान साथै त्यस ल्याब परियोजना लगायत विविध बिषयवस्तुमाथि कुराकानी गरि सरको न्यानो आतिथ्यता स्विकार गर्यो। केहि बेरको बसाइ पश्चात लोबुचे फर्केर भोलिपल्ट त्यहि देखि बेस क्याम्प जाने भएकोले छिट्टै खाना खाएर सुत्यौ ।
यात्राको मुख्य गन्तब्य पुग्नको लागि बिहान सबेरै उठेर हिड्यौ। पानि, केहि खाजा र क्यामेराको झोला बोकेर अरु झोला त्यहि होटलमा छोडेर हामी हिडेका थियौ। लोबुचेबाट तेर्सो बाटो अगाडि बढेको केहि बेरमा बिहानिको घामले हिमालमा लालि छर्दै किहिबेरमा हामिलाइ स्पर्श गर्न आइइपुग्यो । केहि उकालो चढेर लोबुचे पास पार गरेपछि चाङ्ग्री शार ग्लेशियरले ध्वस्त पारेको बाटो हुदै गोरकशेप पुग्नु थियो। यो यात्रामा धेरै उकालो छैन तर लोबुचे पास पार गरेपछि हल्का उकालो तेर्सो बाटोमा धेरै होसियार भएर हिड्नु पर्छ। ग्ल्यासिएरले बनाएको ढुङ्गे बगरमा हिड्नु पर्ने भएकोले बिशेस ख्याल गरेर हिड्नु पर्छ। प्रत्येक बर्ष हिमनदीले बाटो बिगार्ने हुदा जोगिएर हिड्नु पर्ने हुन्छ। गोरकशेप हिमताल पग्लिएर बनेको गहिरो ठाउमा रहेको छ। गोरकशेप सगरमाथा क्षेत्रको प्रख्यात कालापत्थर पुग्ने आधार बिन्दु पनि रहेको हुँदा त्यहाँ पर्यटकको चहलपहल धेरै थियो। होटल भरिभराउ देखिन्थे। त्यहाँ पुग्दा अक्सिजनको कमीले गुम्म महसुस भएकोले एउटा होटलमा लसुनको सुप खाए पछि बेस क्याम्प तर्फ लाग्यौ।
हामि लोबुचे देखि हिडेकोले बेस क्याम्प पुग्दा त्यहाँ रहेका अन्य पर्यटक फर्किने तयारिमा र पछिल्लो टोलिहरु आइपुग्ने बेला नभएको हुँदा बिना भिडभाड सहज रुपमा फोटो खिच्न पाइयो। सपनाको गन्तब्य पुगियो। छुट्टै अनुभूति गरियो। मनले चाहेकाे सपना पुरा गर्न जस्तै कठिनाई परेपनि सम्भब हुने रहेछ भन्ने त्यहाँ पुगेपछि देखियाे। त्यहाँ रहेर केहि बेर खुम्बु हिमताल र वरपर नियाल्दै गर्दा खुम्बु आइसफल बाट आइसफल भएको देख्ने अवसर पाइयो। केहि बेर बेस क्याम्पमा बिताएपछि गोरकशेप फर्किएर खान खाएर लोबुचेको लागि प्रस्थान गर्यौ। त्यो दिनको बास थुक्लामा बस्ने योजना अनुरुप हामी फर्किएका थियौ। तर बिहान छिट्टै हिड्दा घुडाको लागि औसधि बोक्न बिर्सिएको कारण लोबुचे आइपुग्दा दुखाई महसुस हुन थालिसकेको थियो। त्यसमाथि धुम्मिएको मौसमले कतै पानि परेर बिजोग पार्ने हो कि भन्ने डर मान्दै थुक्ला झर्यौ र उही याक होटलमा बस्यौ।
गन्तव्यमा पुगेपछि फर्कन छुट्टै उत्साह हुन्छ सायद। थुक्ला बाट त्यसदिन हाम्रो गन्तब्य नाम्चे पुगेर बस्ने थियो। त्यहाँ आइपुग्दा दशैको फूलपाती लागिसकेको थियो। यात्रा सुरु गर्दा गाडीमै फर्कने योजना थियो हाम्रो तर ति वकिल सरले सकेसम्म लुक्ला देखि प्लेनको टिकट मिलाउछु भनेको भएर अब हामीलाई प्लेनमा गएर विजयादशमीको दिन घर पुग्ने लोभ पलाएको थियो। थुक्ला बाट पांग्बोचेमा खाना खाएर झरेको ओरालो हामीलाई फुंकी थान्का देखि फेरी उकालो चडाउने वाला थियो। आठ दिनको निरन्तरको हिडाईले थाकेको ज्यानमा उकालो चड्ने तागत बाकि थिँएन त्यहिनी कम्तिमा लुक्ला सम्म हिड्नु बाध्यकारि थियो। त्यसदिन करिब १० घण्टा हिडेर नाम्चेमा बास बस्यौ। नाम्चेकाे हाेटलमा पुगेपछि बेस क्याम्प हिड्न लागेका पर्यटकलाई आफ्नो यात्राको बारेमा सुनाउदा उनीहरुमा देखिएको रोमान्चकताले त्यहाँ पुगेर आएकोमा आफैलाई गौरवान्वित बनाएको थियो।
नाम्चेमा सबेरै उठ्यौ अनि वकिल सर संग प्लेन टिकटको केहि जानकारी पाइयो भनी सोधी गर्यौ। उहाले मिलौदैछु भन्नु भयो। उहाँ जसरि नि प्लेनमा फर्किने योजनमा रहेको भन्नु भएपछि हामी २ भाइ प्लेनमा जाने या गाडीमा जानको लागि सजिलो हुने गरि बाटो छोट्याउने निर्णयमा पुग्यौ र लुक्ला प्रस्थान गर्ने भयौ। हामी संग बाकि रहेका केहि खानेकुरा र थोरै रकम गाइड चक्र दाइलाई धन्यवाद सहित दिएर बिदाबारी भै लुक्लाको लागि नाम्चेको ओरालि झर्यौ। बाटोमा यात्राका गफ गर्दै पुनः फेरी त्यस क्षेत्रको थ्री पास पुरा गर्ने कल्पना गर्दै हामीले यात्रा अगाडी बढायौ। प्लेनमा जान सकिने सम्भाब्यको लागि केहि चिनेजानेका व्यक्तिलाई खबर गर्दै वकिल सर संग निरन्तर सम्पर्कमा रहदै अगाडी बढी रह्यौ। बिचमा एकजना आफन्त मार्फत लुक्लामा रहेका समिट एयर का स्थानीय प्रतिनिधि संग भोलिका लागि प्लेनको टिकट सुनिस्चित गराएपछी उहाकै होटलमा बास बस्ने निर्णय गरि ढुक्कले लुक्ला पुगेर बास बस्यौ।
अर्को दिन विजयादशमीको दिन घर परिवारले आजै पुग्ने नपुग्ने बारे निरन्तर चासो राखिरहनु भएको थियो। प्लेनमा रामेछाप मन्थली सम्मको टिकट मिलेको र त्यहाबाट गाडीमा काठमाडौँ हुदै त्यहि दिन घर आइपुग्ने कुराको जानकारी गराई अघिल्लो दिन भनेअनुसारको समयमा लुक्ला एयरपोर्ट पुग्यौ। बिस्वकै खतरनाक मध्ये एक पर्ने उच्च स्थानमा राखेको तेन्जिंग हिलारी विमानस्थल बाट हुने उडानको रोमान्चकता कल्पना गर्दै त्यहाबाट भैरहेको उडान अवतरण गर्दै आफ्नो पालो कुर्दै बस्यौ। हामीलाई मन्थली सम्म लैजाने प्लेनले पहिलो उडान काठमाडौँ गरेर अनि बल्ल आइपुग्ने भएकोले निर्धारित समयभन्दा करिब २ घण्टा ढिलो गरि प्लेन आइपुग्यो। टिकट लिएर चेकिंगमा रहंदा बाकि रहेका चकलेट, बिस्कुटहरु त्यहाँ ड्युटीमा रहेका प्रहरीलाइ लिनुस भन्दा उहाहरुले गर्नु भएको हानथापले रमाइलो बनायो। चेकिंग सकेर बोर्डिंग पास लिएपछि केहि युवा साथीहरु भेट भयो। उनीहरु गोक्यो यात्राको लागि हिडेका रहेछन तर टोलीका एकजनाको खुट्टामा समस्या भएर हिड्न नसक्ने भएपछि फर्किएको सुनाउदा उनीहरुको मुहारमा देखिएको निरासाले नमज्जा बनाए पनि आफ्नो सफल भएको यात्राको बारेमा केहि बेर गफिदै बसियो।
नेपालीहरु बढ्दै गएको घुम्ने संस्कारले बिभिन्न स्थानहरुको प्रचार प्रसार र नेपालीहरुको गन्तब्य बन्न थालेको छ। पदयात्रामा जाने कयौं मान्छेको रहर हुन्छ त्योभन्दा ठूलो सपना। यो सपना कतिपयको सपनामै सीमित भएको हुन्छ त कतिपयले सपना पूरा गर्ने मौका खोजिरहेका हुन्छन्। कतिपयले सपना पूरा गर्ने अठोटले यात्रा प्रारम्भ गरेका हुन्छन् तर अफसोच केहीको स्वस्थ समस्याले पुरा हुन सक्दैन। त्यसैले स्वास्थ्यको ख्याल गर्दै हिड्नु बिशेष महत्वपूर्ण हुन्छ।
काठमाडौँ बाट फर्किएको प्लेन पुगेपछि हाम्रो पालो आइपुग्यो। १८ सिटे उक्त जहाजमा टिकट देखाउदै परिचारिकाले देखाए अनुरुपको सिटमा बसेको केहि मिनेटमै प्लेनले उडानको लागि तयारी गर्यो। छोटो धावनमार्ग रहेको र पहाडको बिचमा रहेको हुदा त्यहाँ उडान गर्दा बिशेष साबधानी अपनाउनु पर्ने हुन्छ। जसै प्लेनले जमिन छोडेर आकाशमा उड्न थाल्यो वरिपरीका उच्च डाँडा हेर्दै सगरमाथा बेस क्याम्प पुगेको कल्पनामा रमाउदै थिए एक्कासी प्लेनले उचाई घटाउन तल झर्दा ज्यान सिरिंग बनायो। करिब ५०० मिटर समुन्द्री सतहमा रहेको मन्थली बिमानस्थलमा अवतरणको लागि उचाई घटाउन त्यसरी तल झारिएको रहेछ भन्ने कुरा एकै छिनमा देखिएको विमानस्थलले जनायो। करिब १५ मिनटको उडानमा मन्थली झर्दा त्यहाको गर्मीले हपक्क बनायो। विमानस्थल बाट बाहिर निस्किएर काठमाडौँ पुग्ने गाडी पाइहाल्छ कि भनेर हेरेको एउटा गाडी तयार अवस्थामा रहेको तर महँगो भाडा अनि सिट पुरा नभई नजाने सुनियो। बिदेशी पर्यटकका लागि ट्राभल एजेन्सीको गाडी तयार थियो हामीलाई त्यहि सार्बजनिक सवारी नकुरी बिकल्प थिएन। अर्को बिमान अवतरण भएर त्यसमा रहेको केहि व्यक्ति बसमा चढेपछि बस बल्ल अगाडी बढ्यो। अब भने टीकाकै दिन सम्पूर्ण परिवार घरमा रहदै पुगिन्छ भन्ने आशा अनि खुसि पलायो। काठमाडौँ पुगेपछि बिकाश जी र म छुट्टिएर आ-आफ्नो घर तर्फ लाग्यौ। म कलंकीमा पुगेर दाइको मोटरसाइकल लिएर घर पुगे। विजयादशमीको टीकाकै दिन घर पुग्दा परिवार संगैको खुसिको माहोलमा सबै संग टिका लगाएपछि सबैलाई नजिक राखेर यात्राको वृस्तान्त सुनाउन थाले।
हिड्ने बेलामा पहिलो पदयात्रा सम्पन्न गर्न सक्छु सक्दिन भन्ने केहि डर रहेता पनि पुगेर फर्किसकेपछि गौरवान्वित बनाएको छ। नेपाली पदयात्रीको लागि अन्य ठाउँको तुलनामा, अन्य सपनाभन्दा यो सपना पूरा गर्ने कार्य त्यति सजिलो पनि छैन र बाहिर चल्ने हल्लाझैं अप्ठ्यारो पनि छैन। सुनेजस्तो केहि महँगो रहेतापनि आवस्यक पूर्वतयारी, समन्वय र यात्राका क्रममा अनुशासन देखाउन सक्ने हो भने यो यात्रा मुस्किल छैन र नेपाली हरु एक पटक पुग्नै पर्ने गन्तब्य हो। यसका लागि मनैदेखि आँट्न चाहिँ सक्नुपर्छ।