विपद्का सारथि बिक्रमजंग: जसले झ्याप्लेखोलाको लेदो र आँसुबीच जनतालाई साथ दिए गफमा होइन काममा विश्वास गर्ने बिक्रमजंग झ्याप्लेखोलाको पहिरोमा आफ्नै ज्यान जोखिममा राखेर निरन्तर खटिरहे

19942 पटक पढिएको

२१ आश्विन २०८१, सोमबार ०९:४१ सम्पादक: धादिङ न्यूज

धादिङ, २१ असोज २०८१ । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षा, भीषण बाढी र पहिरोले देशको राजधानी काठमाडौँ र आसपासका जिल्ला धादिङ एवं काभ्रेमा जनधनको ठूलो क्षति पुर्‍यायो । पश्चिम भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्ग मुग्लिन-नागढुङ्गा सडक खण्डमा खसेको पहिरोले स्थानीय नागरिकलाई मात्र सताएन, बरु देशैभरि कहिल्यै भुल्न नसकिने पीडा र गहिरो चोट दियो । देशका विभिन्न भागबाट काठमाडौँतर्फ जाँदै गरेका यात्रुवाहक सवारी साधनहरू धादिङ र काठमाडौँ जिल्लाको सिमानामा पर्ने झ्याप्लेखोलामा पहिरोभित्र पुरिँदा ३५ जना निर्दोष नागरिकले अकालमा ज्यान गुमाउनु पर्‍यो ।

झ्याप्लेखोलाको त्यो भयानक पहिरोले धेरैको सपना निमेषभरमै खोसिदियो, सहारा टुटाइदियो र खुसीहरू लुटेर जीवनभर विर्सन नसकिने चोटहरू छोडेर गयो । आफ्नो गन्तव्यको नजिक पुग्नै लाग्दा पहिरोमा पुरिएका सवारी साधनहरूको बारेमा बेलैमा आधिकारिक जानकारी नहुँदा उद्धार कार्यमा समेत ढिलाइ हुन पुग्यो । तर, जतिबेला पहिरोभित्र मानिसहरू पुरिएका छन् भन्ने खबर पुष्टि भयो, त्यतिबेला देखि पहिरो पन्छाउने, घाइतेहरूको उद्धार गर्ने, पहिरोभित्र पुरिएका शवहरूको उत्खनन गर्ने देखि पहिरो हटाएर एकतर्फी सवारी साधन सुचारु नहुँदासम्म एउटा मानिसले त्यो कहालीलाग्दो ठाउँलाई एक पल पनि छाडेनन् ।

झमझम परिरहेको पानीको कुनै पर्वाह नगरी, ज्यानमा प्लास्टिकको एउटा सामान्य रेनकोट भिरेर र हिलोमैलोसँग पौंठेजोरी खेल्दै उद्धार एवं उत्खननमा निरन्तर खटिएका ती व्यक्तिलाई दिनरात, भोकप्यास केही नभनी लागिरहेको देख्दा धेरैले उनलाई हृदयदेखि नै धन्यवाद दिइरहेका थिए । आपतविपतको समयमा विभिन्न बहानाबाजी गरेर पन्छिने होइन, बरु अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गर्न अग्रसर हुने ती व्यक्ति थिए धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ९ का वडा सदस्य बिक्रमजंग राना । यस्तो कठिन परिस्थितिमा जसरी हुन्छ जनताको नजिक रहेर काम गर्नुपर्छ भन्ने दृढ मान्यता राख्ने रानाको बुझाइमा जनप्रतिनिधि भनेका जनताका इमान्दार र बफादार सेवक हुनुपर्छ । उनै जनसेवक बिक्रमजंग रानासँग धादिङ न्यूजका प्रधानसम्पादक केशव अधिकारीले गर्नुभएको कुराकानीको सम्पादित विवरणलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

मौसम पूर्वानुमान महाशाखाले केही दिन अघिदेखि नै विशेष सूचना जारी गरेर अविरल वर्षा र बाढी पहिरोको उच्च सम्भावना रहेको पूर्वजानकारी गराएको थियो । विभागको पूर्वानुमान अनुसार नै मौसम बिस्तारै बदलिँदै जान थाल्यो, आकाशमा काला बादलहरू मडारिन सुरु गरे र वर्षा पनि सुरु भयो । असोज १० गतेदेखि सुरु भएको त्यो वर्षाले १२ गते बिहान हुँदा नहुँदै देशैभरि ठूलो पीडा, छटपटी र कष्टको अवस्था निम्त्याइछाड्यो ।

मौसम विभागले दिएको पूर्वसूचना बमोजिम नै तीन दिनसम्म अविरल वर्षा भयो । असोज १० गतेदेखि सुरु भएको वर्षा ११ गते दिनभरि नै जारी रह्यो र दोस्रो रात पनि वर्षा रोकिने कुनै संकेत देखिएन । एकछिन पनि विश्राम नलिई झरीले आफ्नो अवधि लम्ब्याउँदै लैजान थालेपछि हरेक मानिसको मनभित्र अब के हुने हो भन्ने त्रासको बादल मडारिन थाल्यो र मस्तिष्कमा मेघ गर्जनजस्तै भय पैदा भयो ।

तीन दिनसम्मको त्यो अनवरत वर्षाले धादिङ मात्र होइन, राजधानी काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति गरायो । राजधानीका धेरै भूभागहरू डुबानमा परे भने पहाडी भेगमा बाढी र पहिरोले वितण्डानै मच्चायो । सामाजिक सञ्जाल र नेपाली सञ्चारमाध्यमहरू बाढी पहिरोका दर्दनाक दृश्य तथा हृदयविदारक खबरहरूले भरिन थाले ।

असोज १२ गते बिहानको उज्यालो हुँदा देशैभरि बाढी पहिरोको प्रलयकारी खबरले सबैलाई स्तब्ध पार्न थालिसकेको थियो । राजधानी काठमाडौँसँगै धादिङ जिल्ला पनि बाढी र पहिरोको तीव्र चपेटामा परिसकेको थियो । नदी र खोलाहरू उर्लिएर आफ्ना पुराना बगाइ छाडी नयाँ बाटो खोज्दै बस्तीतिर सोझिन थालेका थिए । अघिल्लो राति नै गजुरीमा दुई जना मानिस पहिरोमा च्यापिएको र एक जना बालिकालाई खोलाले बगाएको दुःखद खबर आयो । बिहान भएपछि पहिरोमा पुरिएर थाँक्रेमा थप एक जनाको ज्यान गएको खबर सुन्नु पर्‍यो । अझै कता के कति क्षति हुने हो भन्ने त्रासले सबैलाई पिरोलिरह्यो ।

यसैबीच धुनिबेशी नगरपालिकामा पर्ने सुरुङ मार्ग निर्माण स्थल रहेको त्रिभुवन राजपथमा वर्षा सुरु भएसँगै पहिरो खसेर सडक रोकिने क्रम सुरु भइसकेको थियो । त्यसो त, केही समय यता सुरुङ मार्ग क्षेत्रमा पहिरो खसेर सडक बन्द हुने क्रम नियमितजस्तै चलिरहेको छ । यसपटक भने धेरै नै पहिरो खसेपछि सुरुङ मार्ग निर्माण आयोजना, सडक विस्तार आयोजना, धुनिबेशी नगरपालिका र सुरक्षा निकायको समन्वयमा पहिरो पन्छाउने काम चलिरहेको थियो । तर, अविरल वर्षाका कारण लेदो खस्ने क्रम नरोकिँदा राजमार्गमा सवारी साधनहरू रोकिने र जाम हुने क्रम झन् झन् बढ्दै गयो । दिनभरको अथक प्रयासपछि असोज ११ गते राति ८ बजेपछि सडक एकतर्फी खुलेको जानकारी आए तापनि सडकमा लामो समयदेखि रोकिएका सवारी साधनहरू सहजै अघि बढ्न सकिरहेका थिएनन्, किनभने त्यहाँ निकै ठूलो जाम थियो र वर्षा निरन्तर जारी नै थियो ।

सडकमा पहिरो खस्ने क्रम रोकिने छाँटकाँट थिएन । अवरोध पन्छाएर सडक एकतर्फी खुलाए पनि सुरुङ मार्गबाट छुटेका सवारी साधनहरू राति अबेरसम्म झ्याप्लेखोला कट्न पनि नसकेको चिन्ताजनक खबरहरू आइरहेका थिए । रात छिप्पिँदै जान्छ तर वर्षा रोकिँदैन । अविरल वर्षापछिको पहिरोको चपेटामा विद्युत्का पोलहरू परेपछि धुनिबेशी, थाँक्रे, गल्छी लगायतका क्षेत्रमा दुई दिनदेखि बिजुली बल्न छाडिसकेको थियो । बिजुली नहुँदा इन्टरनेट सेवा पनि पूर्ण रूपमा बन्द थियो भने मानिसहरूका मोबाइल फोनहरू पनि चार्ज सकिएर एकपछि अर्को गर्दै बन्द हुने क्रममा थिए । विद्युत्, इन्टरनेट र मोबाइल फोन सबै बन्द भएपछि धेरै नागरिकले घरबाहिरको संसारमा के भइरहेको छ भन्ने सूचना पाउन समेत सकिरहेका थिएनन् । पानी पर्न थालेको दुई दिन भइसकेको थियो । दिनरात एकैनासले परेको पानीले कहाँ कहाँ के कति नोकसानी गर्‍यो होला भन्ने कौतुहलता र चिन्ता मनमा खेलिरह्यो । यही वर्षाकै बीचमा निकै कष्टसाथ रात कट्यो र बिहान भएपछि घरटोल वरिपरि कता कता के कस्तो क्षति भयो होला भनेर जानकारी लिन म बिहानै घरबाट निस्किएँ । जनप्रतिनिधि र देशकै जिम्मेवार राजनीतिक दल नेकपा एमालेको कार्यकर्ता भएको कारणले गर्दा यस्तो आपतविपतको समयमा आम नागरिकको साथमा रहनु मेरो परम कर्तव्य पनि थियो ।

असोज १२ गते बिहान छ बजे घरबाट निस्किएर बाटोमा जहाँ जो भेटिन्छ, उसैको मोबाइल मागेर गाउँटोलका सबैतिर उपलब्ध हुन सक्ने नम्बरहरूमा सम्पर्क गर्दै सूचना लिन थालेँ । त्यस क्रममा गाउँमा धेरैको घर र आँगन भत्किएको सूचना पाएँ । सूचना संकलन गर्दै सबैभन्दा पहिले म आफ्नो वडामा क्षति भएका घर र गोठहरू हेर्न निस्किएँ । बिहान ७ बजेतिर टायलघर नयाँ बस्तीमा पुग्दा त्यो बेला पनि धेरै ठूलो पानी परिरहेको थियो । म बाहिरको अवस्था नियाल्दै थिएँ, अचानक खोला बन्द भयो र हेर्दाहेर्दै छिमेकी आमाको पसलमा बाढी पस्यो । बाढीले पसलमा ठूलो क्षति गर्न थालेपछि ती वृद्ध आमालाई उद्धार गर्न म हतार-हतार उहाँको पसलभित्र गएर बाहिर निकालेँ, त्यतिन्जेल म सँगै अरू साथीहरू पनि त्यहाँ पुगिसकेका थिए । आमालाई सुरक्षित ठाउँमा राखेर म पुनः वडाको निरीक्षणमा निस्किएँ । फर्केर आउँदा बाटोमा प्रहरी टोलीसँग भेट भयो । भेटका क्रममा प्रहरीले काठमाडौँको चन्द्रागिरी नगरपालिकामा पर्ने सडक छेउमा पहिरो खसेर झ्याप्लेखोलाको काठमाडौँ-धादिङ सीमा क्षेत्रमा यात्रुसहितका सवारी साधनहरू पुरिएको अपुष्ट खबर रहेको जानकारी दिए । प्रहरीले दिएको यो सूचनापछि मेरो मथिङ्गल जताततै घुम्न थाल्यो । त्यो कहाँबाट आएको यात्रुवाहक बस होला, त्यसमा कति जना मानिस सवार थिए होलान्, पहिरोमा पुरिए पनि तिनको ज्यान जोगिएको भए हुन्थ्यो भन्ने जस्ता अनेकौँ कुराहरू सोच्न थालेँ ।

बस पहिरोमा पुरिएको सूचना पाएपछि अरू साथीभाइहरूलाई पनि यस्तो खबर आयो है भन्दै म कानाकोटतर्फ लागेँ, तर बाटोहरू सबैतिर पहिरोले बन्द भइसकेका रहेछन् । म पनि पहिरोका कारण बीच बाटोमै रोकिन पुगेपछि ‘जे पर्ला पर्ला’ भन्दै पैदल नै झ्याप्लेखोलातर्फ अघि बढेँ । मेरो मोबाइल बन्द भइसकेको हुँदा अरू कसैलाई सम्पर्क गर्न सकिरहेको थिइनँ र पहिरोले सडक पूर्ण रूपमा बन्द भएकाले तत्काल घटनास्थल पुग्न सकिनँ । दिउँसो १२ बजेतिर धुनिबेशीका नगर प्रमुख बालकृष्ण आचार्यसँग सम्पर्क भयो र उहाँले धार्केदेखिको पहिरो पन्छाउँदै आउने कुरा बताउनुभयो । धुनिबेशी नगरपालिकाको क्षेत्रभित्र पर्ने राजमार्गमा खसेका पहिरोहरू पन्छाएर बाटो खुलाउँदै आउने सल्लाह भएपछि हामी सँगै खत्रीपौवासम्म गयौँ ।

खत्रीपौवाबाट हामी पैदल नै झ्याप्लेखोला पुग्यौँ र दिउँसो ४ बजेतिर त्यहाँ दुई वटा जेसिभी मेसिन आइपुगे । झ्याप्लेखोलाको पहिरोको दृश्य अत्यन्तै अस्तव्यस्त र भयावह थियो । खत्रीपौवाबाट झ्याप्लेखोलासम्म पैदल पुग्दा पनि अविरल वर्षा जारी नै थियो र सुरुङ मार्ग लगायतका विभिन्न स्थानमा साना-ठूला पहिरोहरू खसिरहेकै थिए । पहिरोबाट जोगिँदै झ्याप्लेखोला पुग्दा त्यहाँ निकै विशाल पहिरो खसेको देखियो । चिसापानी धारा नजिकै छेउतिर निर्माण गरिँदै गरेको सडकको पर्खाल (वाल) भत्किएर माथिको सिङ्गो जङ्गललाई ठेल्दै राजमार्गमा आएर थुप्रिएको रहेछ । यो पहिरोको रूप देख्दा यहाँ वास्तवमा के भएको छ र कति गाडी पुरिएका छन् भनेर सहजै छुट्याउन सक्ने अवस्था नै थिएन । वि.सं. २०५९ सालमा पनि यही ठाउँमा ठूलो पहिरो खसेर सडकको कुनातिर रहेका घरहरू भत्किनुका साथै ९ जना मानिसको ज्यान गएको थियो । मलाई त्यो पहिरो देखेपछि त्यतिबेलैको दुःखद इतिहासको सम्झना भइरह्यो । त्यहाँ पहिरो मात्र होइन, एउटा सिङ्गो पहाड नै खसेर थुप्रिएको जस्तो देखिन्थ्यो । पहिरोले के कति क्षति गरेको छ र त्यसभित्र के कस्ता साधनहरू परेका छन् भन्ने कुरा सुरुमा कसैलाई स्पष्ट जानकारी थिएन । जेसिभीले मात्र त्यो विशाल पहिरो पन्छाउन सक्ने अवस्था नभएपछि त्यहाँ ठूलो स्काभेटर ल्याइपुर्‍याइयो । स्काभेटरको सहायताले पहिरो बिस्तारै पन्छाउँदै जाँदा सुन्दा पनि मुटु नै चिसो बनाउने र आङै जिरिङ्ग हुने दृश्यहरू देखिन थाले । बस, माइक्रोबस र कार पहिरोभित्र क्षतविक्षत अवस्थामा फेला पर्दा र ३५ जनाको अकालमा ज्यान गुमेको दृश्य देख्दा मन निकै भावुक र मर्माहत बन्यो । हिलोले पुरिएर पहिरोभित्र हराएका सवारी साधनहरू भेटिँदै जाँदा पनि दुर्भाग्यवश कसैलाई पनि जीवितै उद्धार गर्न सकिएन । एक-एक गर्दै ३५ वटा शवहरू त्यहाँबाट बाहिर निकाल्दा आफ्नो मन सम्हाल्न निकै गाह्रो भइसकेको थियो । बालबालिकादेखि लिएर सबै उमेर समूहका व्यक्तिहरूको शव चिन्नै नसकिने विभत्स अवस्थामा बाहिर निकाल्ने काम भयो । वर्षा निरन्तर जारी नै थियो र उद्धार कार्य भइरहँदा पनि बेलाबेलामा माथिबाट पहिरोको लेदो खसिरहेकै हुन्थ्यो । तर, हामी पहिरोको त्यो जोखिमबाट बच्दै उद्धार कार्यमा निरन्तर जुटिरह्यौँ ।

रातको १२ बजेसम्म भोक, प्यास र थकाइको कुनै पर्वाह नगरी पहिरोमा परेर ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखियो । बेपत्ता भएका आफन्तहरूको खोजीमा परिवारजनका फोनहरू निरन्तर आइरहेका थिए । राति १ बजेपछि हामी सबै जना पहिरोले आधा पुरेको एउटा बसभित्र चढेर केही बेर ओत लाग्दै आराम गर्‍यौँ । भोलिपल्ट बिहान ७ बजेदेखि पुनः बेपत्ताहरूको खोजी कार्यमा लागियो र साँझसम्म बाँकी शवहरू समेत गरी जम्मा ३५ जनाको लास निकालेर काठमाडौँको शिक्षण अस्पताल पठाइयो ।

लामो समयदेखि पूर्ण रूपमा बन्द रहेको सडकलाई राति ९ बजे पहिरो पन्छाएर धुनिबेशीका नगर प्रमुखसँग सल्लाह गरी नगरको दमकल मागियो र सडकको सबै हिलो पखाली एकतर्फी रूपमा सञ्चालनमा ल्याइयो । त्यसको भोलिपल्ट विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरेर वडाभरि वैकल्पिक (काठमाडौँ तर्फको) विद्युतको लाइन जडान गरियो, जसका लागि म अनवरत रूपमा ३ दिनसम्म बिजुलीको काममा खटिएँ । अहिले पूर्ण रूपमा धुनिबेशीभर विद्युत् सेवा सञ्चालनमा आएको छ भने बाढीपहिरोले बगाएको खानेपानीको व्यवस्थापन कार्य पनि सुरु भइसकेको छ । हिन्दुहरूको महान् चाड दशैँ नजिकिइसकेकाले ग्रामीण सडकहरूको मर्मत सम्भार तीव्र रूपमा भइरहेको छ । वडाका सबै ग्रामीण सडकहरूमा कम्तीमा एम्बुलेन्स सञ्चालन गर्न सकिएमा आपतविपत परेको बेला बिरामीलाई समयमै अस्पतालसम्म पुर्‍याउन सकिन्थ्यो र कसैले पनि यसरी अकालमा ज्यान गुमाउनु पर्ने थिएन भन्ने मलाई लाग्दछ ।

म एउटा सामान्य नागरिक हुँ र पदीय हैसियतमा भन्नुपर्दा नगरको एउटा वडा सदस्य मात्र हुँ । वडा सदस्यसँग कुनै पनि प्रकारको प्रत्यक्ष आर्थिक अधिकार हुँदैन । आर्थिक अधिकार नहुँदा तत्कालै नगरिनहुने र अत्यावश्यक कामका लागि पनि अर्को व्यक्ति वा माथिल्लो निकायसँग भर पर्नुपर्ने बाध्यात्मक अवस्था रहन्छ । निर्णय गर्ने पक्षले सबै कुरा अध्ययन गरेर निर्णय गरिदिँदासम्म यता धेरै क्षति भइसकेको हुन सक्छ । मसँग नगरको ठूलो शक्ति र बाहिरी जनशक्ति नभए तापनि जनताका लागि केही गर्नुपर्छ भन्ने दृढ इच्छाशक्ति भने अवश्य छ । त्यही इच्छाशक्तिले नै मेरो आत्मबल बलियो बनाएर मलाई सधैँ संकटको मैदानमा उतार्ने गर्दछ ।

जनप्रतिनिधि भइसकेपछि आपतविपद्को समयमा जिम्मेवारीबाट भागेर होइन, बरु गाउँवासीसँगै सुखदुःखमा एकाकार हुनुपर्छ भन्ने मेरो अटुट मान्यता हो । आफ्नो कार्यक्षेत्र भित्र पर्ने सडक, कृषि कुलो, विद्यालय, मठमन्दिर, खानेपानी, विद्युत्, स्वास्थ्य, शिक्षा आदि सम्पूर्ण सवालहरूमा प्रत्यक्ष रूपमा साक्षात्कार रहनु मेरो दायित्व हो । जनप्रतिनिधि आफैँ सक्रिय भएमा आम नागरिकले राज्यबाट पाउने सेवा सुविधाहरू सजिलै प्राप्त गर्न सक्छन् ।

सुरुङ मार्गमा झरेको पहिरोले सडक अवरुद्ध हुँदा राजमार्गमा यात्रा गरिरहेका देश-विदेशका हजारौँ यात्रुहरूको बिचल्ली भइसकेको थियो । पहिरो खस्ने क्रम नरोकिँदा त्यहाँको पहिरो पन्छाउन असोज ११ गते राति ८ बजेसम्म म आफैँ अग्रपंक्तिमा खटिएको थिएँ ।

सुरुङ मार्गमा लेदो माटो सहितको पहिरो खसेर पटक-पटक राजमार्ग अवरुद्ध हुने क्रम चलिरहेको हुँदा त्यहाँको गम्भीर वस्तुस्थितिका बारेमा धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डे, प्रतिनिधि सभामा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र प्रहरी उपरीक्षक गौतम केसीलाई मैले आफैँले फोन गरेर जानकारी गराएको थिएँ । साथै सम्भव भए भएसम्म जतिसक्दो छिटो आधुनिक मेसिन प्रयोग गरी पहिरो पन्छाउने व्यवस्थाका लागि सम्बन्धित माथिल्लो निकायको ध्यानाकर्षण गराइदिन आग्रह गरेको थिएँ । तर, दुःखको कुरा मेरो त्यो आग्रहको बेलैमा खासै सुनुवाइ हुन सकेन । यदि चन्द्रागिरी नगरपालिका वा अन्यत्रबाट ठूला स्काभेटरहरू ल्याएर बेलैमा त्यो लेदो पहिरो पन्छाउन सकेको भए झ्याप्लेखोलाको पहिरोमा यति धेरै मानवीय र भौतिक क्षति हुने थिएन । सुरुङ मार्गमा रोकिएका सवारी साधनहरू पहिरो पन्छाएपछि त्यहाँबाट निस्कँदा रातको १० बजिसकेको थियो र दोहोरो लाइन लागेका कारण मोटरहरू सहजै गुड्न सक्ने अवस्थामा थिएनन् । यता गृह मन्त्रालयले रातिको समयमा सवारी साधन सञ्चालन नगर्न निर्देशन जारी गरिसकेको भए तापनि पहिरोको उच्च जोखिममा परेका ती सवारी साधनहरूलाई सुरक्षित स्थानमा हटाउनु पर्छ भनेर कसैको दिमागले सोच्न सकेन र अन्ततः यति धेरै ठूलो क्षति हुन पुग्यो । जे नहुनु पर्ने थियो त्यो भयो, तर यसले हाम्रो व्यवस्थापकीय कमजोरीलाई नराम्रोसँग उजागर गरिदिएको छ ।

( धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ का वडा सदस्य बिक्रम जंग राना संग  गरेको कुराकानीमा आधारित )