आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन
498 पटक पढिएको
धादिङ-आज भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी, बुबाको मुख हेर्ने दिन विशेष धार्मिक तथा पारिवारिक महत्व बोकेको पर्व हो।हरेक वर्ष चन्द्रमास अनुसार औंसी तीथि कुशे औंसी पर्व आज देशभर मनाईदै छ । ज्योतिष गण अनुसार सूर्य चन्दमा जब एकै साथ हुन्छ तब औँसी पर्दछ । आजको दिनमा उखेलेको कुशको उर्जा एक वर्ष सम्म रहन्छ र सोमबार औंसीको दिनमा कुश उखेलियो भने १२ वर्ष सम्म रहने मान्यता छ । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।
सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्याउने गर्छन् ।कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् ।
बुवाको मुख हेर्ने दिन
भाद्र औंसीको दिन मनाईने कुशे औंसीको दिनलाई बुबाको मुख हेर्ने दिन पनि भनिन्छ । आजको दिनमा आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्रदा, तर्पण, दान गर्ने परम्परा छ । पितृदेवो भव अर्थात, जन्म दिने बुवमलाई देवता सम्मान मान्ने धार्मिक मान्यताका साथ आज छोराछोरीले पितालाई विशेष सम्मान गर्ने र आर्शिवाद लिने गर्छन् ।
यस अवसरमा छोराछोरीहरूले आफ्ना बुबाको मुख हेरेर शुभकामना दिन्छन् र मिठो खानाको साथै कपडा, फलफूल, मिष्ठान्न आदि प्रदान गर्छन्। यसले परिवारभित्रको सम्बन्ध अझ सुदृढ बनाउँछ र पितृत्वको कदर गर्न प्रेरित गर्छ।







