धादिङको नीलकण्ठ नगरपालिका र वेनिघाटरोराङ गाउँपालिका सम्मानित
325 पटक पढिएको
काठमाडौं : संघीय मामिला तथा प्रशासन मन्त्रालयले स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका र वेनिघाटरोराङ गाउँपालिकालाई सम्मानित गरेको छ ।
धादिङको नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिकालाई सरकारले उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको हो ।
नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका पहिलो, चितवनको खैरहनी नगरपालिका दोस्रो र रुपन्देहीको तिलोत्तमा नगरपालिका तेस्रो भएका छन्।
त्यस्तै गाउँपालिकातर्फ धादिङकै बेनीघाट रोराङ गाउँपालिका पहिलो, गुल्मीको रुरुक्षेत्र दोस्रो र स्याङजाको अर्जुनचौपारी गाउँपालिका तेस्रो भएका छन्।
गत वर्षपनि नीलकण्ठ नगरपालिका पहिलो भएको थियो ।
स्वमूल्यांकनमा शासकीय प्रबन्ध, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, सामाजिक समावेशीकरण लगायत दश शीर्षकका एक सयवटा सूचकहरुबाट मूल्यांकन गरिन्छ र यसले सेवा प्रवाह गुणस्तरीय र जवाफदेही बनाउने अपेक्षा गरिएको छ।
शुक्रबार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एक कार्यक्रमका बीच मन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थले प्रतिवेदनसहित उच्च अंक प्राप्त गर्ने ३-३ वटा गाउँपालिका र नगरपालिकालाई सम्मान गरिएको हो ।
लिसामा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना ब्यवस्थापन, वित्तिय एवं आर्थिक ब्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद ब्यवस्थापन, र सहकार्य तथा समन्वय गरी १० वटा विषयगत क्षेत्रहरु रहेका छन्।
लिसामा रहेको १० वटा विषयगत क्षेत्रहरुको ३ वटा आयाम र १ सय वटा सूचकहरुको मुल्यांकनका आधारमा अंक प्रदान गरिन्छ ।
हरेक सूचकको अंकभार एक रहेको र लिसा प्रणालीमा सबै सूचकहरुको प्रमाणसहित स्थानीय तहहरुले दाबी पेश गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर परीक्षण गर्ने गर्दछ ।
मन्त्रालयले गुणस्तर परीक्षणमा स्थानीय तहहरुले गरेको दाबी र प्रमाणलाई मुल्यांकन गरेर नतिजा घोषणा गर्ने गर्दछ।







