केउरेनी–खाल्टे–सुनौलाबजार मार्ग जोखिममा

1127 पटक पढिएको

१२ भाद्र २०८२, बिहीबार ०६:११ सम्पादक: धादिङ न्यूज

धादिङ, भदौ १२ । त्रिशूली नदीको पुल तरेर फोस्टार कोशिखोला हुंदै खाल्टे सुनौलावजार तर्फको यात्रामा निस्कंदै हुनुहुन्छ भने सावधानी अपनाएर मात्रै यात्रा शुरु गर्नुहोला । फोस्टार कोशिखोला खाल्टे सडक निकै जोखिमपूर्ण वन्दै गएको छ ।

नुवाकोटको केउरेनीबाट धादिङको  गल्छी गाउँपालिका वडा नम्बर १ फाेस्टार, कोशीखाेला हुँदै नीलकण्ठ नगरपालिकाको खाल्टे , सुनौलाबजारसम्म पुग्ने यात्रुहरू बिग्रँदो सडक अवस्थाका कारण दिनदिनै उच्च जोखिममा पर्ने गरेका छन्। त्रिशूली नदी पार गरेर जाने यो मार्गका विभिन्न भाग भत्किँदा र मर्मत नहुँदा दुर्घटना हुने खतरा बढेको यात्रुहरूले बताएका छन्।

विशेषगरी वर्षायाममा सडक  पहिरो र भासिने समस्या बढेपछि स्थानीय बासिन्दा र यात्रीहरू त्रसित हुने गरेका छन्। “हरेक पटक यात्रा गर्दा दुर्घटनाको डर हुन्छ। सडक धेरै ठाउँमा भत्किएको छ, तर मर्मत गर्ने जिम्मेवारी कसैले लिएको देखिन्न,” स्थानीय श्रीराम खतिवडाले बताउनु भयो ।

नुवाकोट र धादिङका ग्रामीण बस्तीहरूलाई जोड्ने यो मार्ग व्यापार, बजार आपूर्ति र आवतजावतका लागि महत्त्वपूर्ण मानिन्छ। तर सडक मर्मत नभएकाले यात्रुहरूको सुरक्षामात्र होइन, स्थानीयको जीविकोपार्जनसमेत प्रभावित भएको छ।

धादिङबेसीबाट नुवाकोट जिल्ला सदरमुकाम विदुर र संघीय राजधानी काठमाण्डौं जोड्ने छोटो दुरीको सडकको रुपमा चिनिएको यो सडक समयमै मर्मतका लागि स्थानीय समुदायले नीलकण्ठ नगरपालिका तथा प्रदेश सरकारसँग तत्काल सडक मर्मत र सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेका छन्। समयमै पहल नभए थप जनधनको क्षति हुन सक्ने चेतावनी उनीहरूले दिएका छन्।

  • तस्बिर : श्रीराम खतिवडा