धादिङ र तनहुँबाट ठूलो मात्रामा गाँजा/ चरेश बरामद, चार जना पक्राउ
246 पटक पढिएको
धादिङ/तनहुँ।प्रहरीले लागुऔषध नियन्त्रणका क्रममा धादिङ र तनहुँ जिल्लामा छुट्टाछुट्टै अपरेसन सञ्चालन गरी ७८ किलोभन्दा बढी गाँजा र चरेश बरामद गर्दै चार जनालाई पक्राउ गरेको छ।
धादिङको थाक्रे गाउँपालिका–६, महादेववेशी बजारमा शुक्रबार राति प्रहरीले चेकजाँच गर्ने क्रममा करिब ५३ किलो ५ सय ग्राम गाँजा र ५ सय ग्राम चरेश फेला पारेको हो। मकवानपुरतर्फबाट महादेववेशीतर्फ आउँदै गरेको बा प्र ०३–००१ ह ८७९ नम्बरको अटो रोकेर जाँच गर्दा उक्त लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। सो क्रममा त्यही ठाउँका २६ वर्षीय बिजय रोका र एक किशोरलाई नियन्त्रणमा लिइएको हो।
यस्तै तनहुँको म्याग्दे गाउँपालिका–४, थर्पु बजारमा प्रहरीले शुक्रबार साँझ चेकजाँच गर्दा २५ किलो २ सय ९० ग्राम गाँजा बरामद गरेको छ। धादिङबाट पोखरातर्फ जाँदै गरेको बा–९२ प ५४२८ नम्बरको मोटरसाइकलमा सवार धादिङ गजुरी गाउँपालिका–१ का ३८ वर्षीय अक्कल बहादुर तामाङ र अर्का एक किशोर पक्राउ परेका छन्।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी थर्पुले जनाएको छ। हालै लागुऔषधको कारोबार बढेको भन्दै प्रहरीले चेकजाँचलाई अझ कडा पारिएको बताएको छ।







