हँसिया–हथौडाको रङ फेर्दै सकियो नेकपा एमालेको विधान महाधिवेशन

339 पटक पढिएको

२३ भाद्र २०८२, सोमबार ०८:१३ सम्पादक: धादिङ न्यूज

ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आइतबार सम्पन्न भएको छ । शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो ।

आइतबार अध्यक्ष ओलीले तीनै प्रतिवेदन निर्णायार्थ पेस गरेपछि प्रतिनिधिहरूले तालिको ध्वनिका साथ सर्वसम्मत अनुमोदन गरेका थिए ।

महाधिवेशनले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्षपछि पहिलोपटक लोगोमा हँसिया–हथौडाको रङ परिवर्तन गर्ने निर्णय गरेको छ । अबदेखि सेतो पृष्ठभूमिको साटो रातोमा सुनौलो रंगको हँसिया–हथौडा अंकित लोगो प्रयोग गरिनेछ ।

संशोधित विधानअनुसार एमालेको केन्द्रीय कमिटी ३ सय १ सदस्यीयबाट घटाएर २ सय ५१ सदस्यीय हुने भएको छ । त्यस्तै, पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा सीमित गरिएको छ । नयाँ संरचनाअनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र सचिव ७ गरी १५ पदाधिकारी रहनेछन् । पदाधिकारीमा अनिवार्य रुपमा एक महिला रहने प्रावधान पनि राखिएको छ ।

महाधिवेशनले स्थायी कमिटीलाई ४५ सदस्यबाट घटाएर १५ पदाधिकारीमा सीमित गर्ने र ९९ सदस्यीय पोलिटब्युरोलाई केन्द्रीय कमिटीको एकतिहाइभन्दा बढी नहुने गरी निर्वाचनमार्फत गठन गर्ने निर्णय गरेको छ ।

प्रदेश कमिटीको पदाधिकारीमा पनि अनिवार्य रुपमा एक महिला रहने व्यवस्था गरिएको छ । पालिका कमिटी ७५, उपमहानगर ८५ र महानगर १०१ सदस्यीय हुनेछन् भने वडा कमिटी ३१ देखि ५१ सदस्यीय र टोल कमिटी २१ सदस्यीय हुने व्यवस्था गरिएको छ ।

संशोधित विधानले पार्टी बैठकको समयसीमा पनि तोकेको छ । अब केन्द्रीय कमिटी बैठक ६ महिनामा एकपटक, प्रदेश कमिटी ४ महिनामा, जिल्ला कमिटी ३ महिनामा, पालिका कमिटी २ महिनामा र वडा कमिटी एक महिनामा बस्नेछ ।

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनले सबै प्रस्तावलाई सर्वसम्मत पारित गर्दै आइतबार औपचारिक रूपमा सम्पन्न भएको हो ।