सामाजिक सञ्जालमा राष्ट्रपति रामचन्द्र पौडेलको खोजी
356 पटक पढिएको
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अवस्थाबारे अनिश्चिततापछि सामाजिक सञ्जालमा ‘राष्ट्रपति सार्वजनिक गर’ भन्ने माग तीव्र बनेको छ। वरिष्ठ पत्रकार किशोर नेपालले सेनापतिले राजीनामा दिन आग्रह गरेको दाबी गरेसँगै चर्चाले झन् व्यापकता पाएको हो।
विश्लेषकहरूका अनुसार जेनजी आन्दोलनपछिको अस्थिरतामा राष्ट्रपतिको भूमिकाबारे स्पष्ट जानकारी नआउनु लोकतान्त्रिक पारदर्शितामाथि प्रश्नचिन्ह हो। सेनाले राष्ट्रप्रमुखलाई सुरक्षित राखेको भए पनि औपचारिक विवरण दिन ढिलाइ हुनु लोकतन्त्रप्रति जनविश्वास कमजोर पार्ने खतरा रहेको देखिन्छ।
‘राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भदौ २४ गते भएको सुरक्षा प्रमुखको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसँग ‘राजीनामा दिने’ आग्रह गर्दै भने छन, ‘बाँकी हामी सम्हाल्छौँ,’ पत्रकार नेपालले लेखका छन्, ‘राष्ट्रपतिको जवाफ थियो : म राजीनामा दिन्न। बरू, तपाईंहरू मलाइ मारी दिनुहोस् र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाई दिनुहोस्। त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस्।’
वरिष्ठ पत्रकार नेपालको पोस्टले सामाजिक सञ्जाल तरंगित बन्न पुगेको छ। उनको पोस्ट ‘भाइरल’ भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू सेनासँग राष्ट्रपतिको पछिल्लो अवस्था सार्वजनिक गर्न माग गरिरहेका छन्।
जेन्जी आन्दोलनको नाममा भएको विध्वंसपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुस सभामुख,राष्ट्रिय सभा अध्यक्ष लगायतको अबस्था अज्ञात रहेको छ ।








