संविधान दिवसमा एमालेले धादिङबेसीमा बृहत र्‍याली गर्ने

324 पटक पढिएको

१ आश्विन २०८२, बुधबार ११:१२ सम्पादक: धादिङ न्यूज

धादिङ – संविधान दिवसको अवसर पारेर  नेकपा एमाले धादिङले धादिङबेसीमा बृहत र्‍याली र कोणसभा आयोजना गर्ने भएको छ।

जेन–जी आन्दोलनपछि देशको राजनीतिक अवस्था परिवर्तनशील रहेको बेला, संगठनात्मक एकता र जनआर्कषण पुनर्स्थापित गर्ने उद्देश्यसहित असोज ३ गते शुक्रवार एमालेले र्‍याली निकाल्ने तयारी गरेको हो। पार्टीले संविधान र लोकतान्त्रिक अभ्यासप्रति आफ्नो समर्थन जनाउने बताएको छ।

एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी का अनुसार, “संविधान दिवसको अवसरमा पार्टीले संविधान र लोकतन्त्रप्रति आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नेछ, साथै वर्तमान राजनीतिक परिवेशमा एमालेको स्थायित्व र जनताको विश्वास पुनः जित्ने संकल्प व्यक्त गर्नेछ।”

कार्यक्रममा पार्टीका सबै तहका अध्यक्ष, प्रमुख, वडाका नेताहरू तथा युवा सदस्यहरूको अनिवार्य उपस्थितिको लागि आव्हान गरिएको छ। जेन्जी आन्दोलन पछि बढ्दै गएको अन्योल र राजनैतिक दलहरुमाथि लगाईएको मिथ्या आरोप चिर्न र पार्टीभित्रको मनोबल बढाउन असोज ३ गतेको कार्यक्रमले मद्धत गर्ने अध्यक्ष त्रिपाठीले विश्वास व्यक्त गरेका छन् ।

पार्टीभित्र पछिल्लो समय देखिएका गुट विभाजन, आलोचनात्मक आवाज र सङ्गठनात्मक कमजोरीका बाबजुद, र्‍यालीले नयाँ उर्जाका साथ पार्टीलाई अघि बढाउने र युवाको आत्मबल बढाउने लक्ष्य राखेको एमाले धादिङकी सचिव राधिका सापकोटाको भनाई छ ।

सचिव सापकोटाका अनुसार “जिल्लाभरबाट पार्टीमा आवद्ध सदस्य र शुभचिन्तकहरू र्‍यालीमा सहभागी हुनेछन्। यसले एमालेको प्रतिबद्धता, संगठन शक्ति र जनसमर्थन देखाउनेछ र जेन–जी आन्दोलनपछिको संवेदनशील राजनीतिमा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।”