थांक्रेको बाह्रकिलामा बस र टिपर ठोक्किँदा पाँच जना घाइते

326 पटक पढिएको

१ आश्विन २०८२, बुधबार ११:४० सम्पादक: धादिङ न्यूज

धादिङ– धादिङको थांक्रे गाउँपालिका वडा नम्बर २ मा पर्ने पृथ्वीराजमार्गको  बाह्रकिलामा यात्रुबाहक बस र टिपर एक आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्।

भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०३३५ नम्बरको बस र काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ००६ ख ४२६० नम्बरको टिपर आज बिहान ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

दुर्घटनामा घाइते हुनेमा बस चालक रुपन्देही बुटवल उपमहानगरपालिका–१३ का २७ वर्षीय सन्देश अधिकारी, कञ्चन गाउँपालिका–४ का ६० वर्षीय आईत बाहारी थारु, गुल्मी दरबार गाउँपालिका–२ का ४० वर्षीय कमल सारु मगर, कपिलबस्तु शिवराज नगरपालिका–७ का २४ वर्षीय पकंज पाण्डे, र नवलपरासी देवचुली नगरपालिका–५ का ३२ वर्षीय पुनम थसु रहेका छन्।

घाइतेमध्ये आईत बाहारी थारुलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ भने अन्यको महादेवस्थित थाक्रे पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, टिपर चालक नुवाकोट बेलकोटगढी नगरपालिका–१२ का २८ वर्षीय प्रविन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।