नेत्तृत्वमा युवा पुस्ताको माग राख्दै नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिबाट दीपक कोइरालाको राजीनामा

688 पटक पढिएको

८ आश्विन २०८२, बुधबार १२:४१ सम्पादक: धादिङ न्यूज

धादिङ, ८ असोज ।  नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिका सदस्य दीपक कोइरालाले पदबाट राजीनामा दिएका छन्। उनले राजीनामासँगै पार्टी संगठनलाई पुनर्जीवन दिन युवापुस्तालाई अघि ल्याउनुपर्ने माग गरेका छन्।

कोइरालाले हालैको जेनजी आन्दोलन, ७२ जनाको बलिदानपश्चात भएको सत्ता परिवर्तन र व्यापक क्षतिको बीचमा नेपाली कांग्रेस भित्र संगठन पुनर्संरचना र विशेष महाधिवेशनको माग तीव्र बनेको अवस्थामा नेतृत्वले चासो नदिएको आरोप लगाएका छन्।

उनले पार्टी सभापति दम्पत्तिमाथि भएको आक्रमण, नेताकार्यकर्ताको घर–सम्पत्तिमाथि भएको आगजनी घटनाप्रति दुःख प्रकट गर्दै, “राणा, पञ्चायत र राजतन्त्रविरुद्ध शसस्त्र क्रान्ति चलाएको कांग्रेस आज आफ्नै नेताको सुरक्षामा असक्षम बन्नु विडम्बना हो,” भनेका छन्।

कोइरालाले दुई वर्षदेखि जिल्ला कार्यसमितिले औपचारिक बैठक वा सांगठनिक गतिविधि नगरेको, गुट–उपगुटको राजनीति मात्र हावी भएको भन्दै “सदस्य हुँ भन्न पनि लज्जा महसुस भएको” उल्लेख गरेका छन्।

यद्यपि उनले नेपाली कांग्रेसप्रति आफ्नो आस्था अझ गहिरो भएको र पार्टी संरचना सुधार तथा लोकतान्त्रिक मूल्यको संरक्षणका लागि निरन्तर खबरदारी र जागरण अभियानमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

कोईरालाले असोज ८ गते बुधबार जिल्ला पार्टीमा बुझाएको राजिनामा सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका छन् ।