डिभी फारम भर्दा अब एक डलर शुल्क, अनलाइन भुक्तानी अनिवार्य

280 पटक पढिएको

११ आश्विन २०८२, शनिबार १४:४७ सम्पादक: धादिङ न्यूज

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि अबदेखि आवेदन फारम भर्दा एक अमेरिकी डलर शुल्क तिर्नुपर्ने भएको छ । यसअघि फारम भर्दा कुनै शुल्क लाग्दैनथ्यो ।

अमेरिकी विदेश मन्त्रालयले फेडरल रजिष्टरमार्फत जारी गरेको सूचनामा भनिएको छ- धोकाधडी नियन्त्रण तथा प्रशासनिक खर्च व्यवस्थापन गर्न न्यूनतम शुल्क असुल्ने निर्णय गरिएको हो ।

नयाँ नियम सन् २०२७ को डिभी लट्री कार्यक्रमदेखि लागू हुनेछ । यसको आवेदन प्रक्रिया सन् २०२५ अक्टोबरमा सुरु हुने छ । फारम भर्दा पासपोर्ट अनिवार्य रहने र भिसा पाउँदा तिर्नुपर्ने ३३० डलरको शुल्क भने यथावत रहनेछ ।

शुल्क भुक्तानी अमेरिकी सरकारको आधिकारिक अनलाइन पोर्टलमार्फत मात्र गर्न सकिनेछ । भिसा कार्ड, मास्टर कार्ड, पेपल वा अमेरिकन एक्सप्रेस प्रयोग गर्न सकिने भए पनि नेपालमा मुख्यत: भिसा वा मास्टर कार्डमार्फत भुक्तानी सहज हुने जनाइएको छ । शुल्क तिरेपछि मात्र फारम सबमिट गर्न सकिने भएकाले आवेदकलाई पहिले नै कार्डको भुक्तानी सीमा स्पष्ट राख्न मन्त्रालयले सुझाव दिएको छ ।