नेता पौडेलसँग कांग्रेस महाधिवेशन प्रतिनिधिको सुझाव : नियमित वा विशेष महाधिवेशनमा जाऔं

227 पटक पढिएको

११ आश्विन २०८२, शनिबार २०:४६ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसभित्र रुपान्तरण र नेतृत्व पुस्तान्तरणबारे बहसलाई तीव्र बनाउन नेता प्रदीप पौडेलले सातै प्रदेशका महाधिवेशन प्रतिनिधिसँग भर्चुअल संवाद गरेका छन्।

“वर्तमान राजनीतिमा कांग्रेसको जिम्मेवारी र संगठनात्मक भूमिका” शीर्षकमा आयोजित छलफलमा सहभागी अधिकांश प्रतिनिधिहरूले पार्टीलाई गतिशील बनाउन नियमित वा विशेष महाधिवेशनमार्फत नयाँ मार्गचित्र तय गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधिहरूले देशको बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीले सक्रिय भूमिका खेल्न नसकेको उल्लेख गर्दै नेतृत्व रुपान्तरण अनिवार्य भएको तर्क गरे। उनीहरूले केन्द्रीय समितिले तत्काल स्पष्ट निर्णय लिएर महाधिवेशनको बाटो खोल्नुपर्ने माग राखे।

कार्यक्रममा ११० जना महाधिवेशन प्रतिनिधिहरू सहभागी थिए। पौडेलले कार्यकर्ताको भावना बुझ्दै पार्टी रुपान्तरणका लागि आफूले पहल गरिरहेको बताउँदै भने, “पार्टीको जग भनेका आम कार्यकर्ता हुन्, उनीहरूको आवाजलाई केन्द्रले सुन्नैपर्छ।”

प्रतिनिधिहरूमध्ये धेरैले पार्टीलाई देशभर पुनर्जागृत गर्न नियमित महाधिवेशनलाई उत्तम विकल्प भने पनि वर्तमान नेतृत्वमा त्यसको सम्भावना न्यून भएकाले विकल्पस्वरूप तत्काल विशेष महाधिवेशन बोलाउनुपर्ने धारणा राखे।

युवा प्रतिनिधिहरूले हालै देखिएको ‘जेन जेड आन्दोलन’ले उठाएका रूपान्तरण र पुस्तान्तरणका मुद्दा कांग्रेसले गम्भीरतापूर्वक लिनुपर्ने औंल्याए। उनीहरूले पुरानो नेतृत्वले सहजै बाटो नखोले युवाले हस्तक्षेप गरेरै भए पनि नेतृत्व लिने चेतावनी दिए।

प्रतिनिधिहरूले गत फाल्गुन २१ मा सम्पन्न निर्वाचनको परिणामलाई आत्मसात् गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि पार्टीभित्र पूर्ण एकता आवश्यक रहेको निष्कर्ष पनि निकाले।