राजमार्गमा बढ्यो सवारी साधनको चाप
317 पटक पढिएको
काठमाडौं । राजधानी काठमाण्डौंबाट बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेपछि राजमार्गमा सवारी साधनको चाप उल्लेखनीय रूपमा बढेको छ।
दशैं मनाउन गाउँ फर्कनेहरुको कारण राजधानीबाट बाहिरिने सवारी साधनको चाप तीव्र रूपमा बढेको हो ।
असोज १ गतेदेखि नै दैनिक हजारौँ मानिसले राजधानी छाडेर गाउँघरतर्फ यात्रा गर्न थालेका छन्। नयाँ बसपार्कसहित बस छुट्ने विभिन्न स्थानमा यात्रु र सवारी साधन दुवैको भीडभाड छ। काम र पढाइको सिलसिलामा काठमाण्डौंमा रहेका सर्वसाधारण दशैं मनाउन घर फर्किने गर्दछन् ।
फूलपातीसम्म राजधानीबाट बाहिरिने संख्यामा अझ वृद्धि हुने अपेक्षा गरिएको छ। तर यातायात व्यवसायीहरूले यस वर्ष दशैंका लागि अग्रिम टिकट बुकिङ खुला नगरेका कारण कतिपय यात्रुहरू सास्ती खेप्न बाध्य भएका छन्। यस वर्ष दशैंको मुख्य टीका असोज १६ गते पर्छ।
नागढुंगाबाट दैनिक हजारौं यात्रु विभिन्न जिल्लातर्फ जाँदैछन्। त्रिभुवन राजपथ हुँदै निस्केका सवारी साधन गन्तव्यतर्फ अघि बढिरहेका छन्। गाउँमा दशैं मनाउन पुग्ने हतारोले यात्रुहरूलाई छोपेको छ भने बाटोमा कतिखेर पहिरो खस्छ र सडक अबरुद्ध हुन्छ भन्ने त्रास पनि उत्तिकै छ।

यसैबीच, मालवाहक सवारी काठमाण्डौं प्रवेश गर्न थालेका र यात्रुवाहक निजी तथा सार्वजनिक सवारी राजधानी छाडिरहेका कारण राजमार्गमा थप जाम बढेको छ।
अत्याधिक सवारीका कारण ओभरटेक गर्ने, लेन मित्ने जस्ता कारणले सडकमा अवरोध आउने गरेको छ ।







