असोज २० सम्म मनसुनी वर्षा तीव्र, उच्च सतर्कता अपनाउन आग्रह
190 पटक पढिएको
काठमाडौं, १५ असोज। असोज १७ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा मनसुनी गतिविधि तीव्र हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । बंगालको खाडीमा बनेको न्यून चापीय मौसमी प्रणाली नेपाल प्रवेश गर्ने क्रममा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी प्रभाव पर्ने देखिएको विभागले जनाएको छ ।
विशेषगरी नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूको बहाव बढ्ने, तटीय क्षेत्र र डुबान क्षेत्रमा जोखिम रहने चेतावनी दिइएको छ । साथै, पहिरो र भू–स्खलनको सम्भावना पनि उच्च रहेको विभागको भनाइ छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । अत्यावश्यक बाहेक यात्रा नगर्न, राति यात्राबाट बच्न, जोखिमयुक्त सडक खण्डमा भारी उपकरण तयारी अवस्थामा राख्न र सुरक्षित स्थानमा बस्न प्राधिकरणले आह्वान गरेको छ ।
विभागले वेभसाइट, सामाजिक सञ्जाल, टोल फ्री नम्बर ११३५ र SMS सेवामार्फत निरन्तर सूचना उपलब्ध हुने जनाएको छ ।







