देशका अधिकांश स्थानमा वर्षा जारी
417 पटक पढिएको
काठमाडौं, १८असोज-मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,आज दिउँसो : देशभर साधारणतया बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभाग धेरै स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।
आज राति : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र तराई भूभागका अधिकांश स्थान, लुम्बिनी प्रदेशका पहाड र तराई भूभाग धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड र तराई भूभागका केही स्थान तथा मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।
मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।
अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
असोज १८ गते बिहान ५.५० बजेको भू–उपग्रह तस्बिरमा देखिएको वर्षा गराउने बादल नेपालतर्फ बलियो हुँदै गएको छ।
मौसमविद्हरूका अनुसार अरब सागरमा उत्पन्न न्यून चापीय प्रणालीको असर सुदूरपश्चिममा देखिन थालेको छ। कैलालीको चुरे क्षेत्र र कञ्चनपुरको चुरे फेदीमा वर्षा सुरु भएको छ। प्रारम्भिक आकलनभन्दा बढी प्रभाव देखिएकोले सतर्कता आवश्यक भएको बताइएको छ।
बंगालको खाडीबाट आएको अर्को प्रणाली अहिले भारतको बिहारसम्म पुगेको छ र नेपाल नजिकिँदै छ। उपग्रह नक्सामा ठूलो रातो घेरासहित देखिएको यो प्रणाली बलियो बन्दै गएको छ। भारतमा वर्षा गराउँदै उत्तरतर्फ सर्दै गरेको यो प्रणालीले शनिबार दिउँसोदेखि नेपालमा थप सक्रियता देखाउने अनुमान छ।
विशेषगरी लुम्बिनी प्रदेश हुँदै गण्डकी, बागमती, मधेस र कोसी प्रदेशमा भारी वर्षा गराउने सम्भावना बलियो बन्दै गएको मौसमविद्हरूको भनाइ छ। तर सबै मौसमी मोडेलमा एकरूपता छैन। कतिपय मोडेलले अति भारी वर्षा देखाउँछन् भने केहीले मध्यमदेखि भारी वर्षा मात्र देखाएका छन्।
यसैबीच, भारतको बिहार र पूर्वी उत्तर प्रदेश हुँदै नेपालतर्फ आएको बादलको बाहिरी घेरा लुम्बिनीको पूर्वी भागदेखि कोसी प्रदेशसम्म फैलिसकेको छ भने भित्री घेरा नेपालका दक्षिणी भागमा प्रवेश गरिसकेको छ। हेटौंडा, ललितपुर र आसपासका क्षेत्रमा मध्यम वर्षा भइरहेको छ र यो क्रम जारी रहने देखिएको छ।
भारतको ओडिशा तटीय क्षेत्रमा पछिल्लो २४ घण्टामा २१० मिमि वर्षा भएको भारत मौसम विभागले जनाएको छ। यसै प्रणालीले आगामी दुई दिन पूर्वी नेपालमा मध्यमदेखि भारी वर्षा गराउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले चेतावनी दिएको छ।







