धादिङमा भारी वर्षाका कारण सवारी साधन तीन दिनका लागि बन्द

197 पटक पढिएको

१८ आश्विन २०८२, शनिबार १६:२९ सम्पादक: धादिङ न्यूज

धादिङ, १८ असोज  – धादिङ जिल्लामा भारी वर्षा र मनसुनजन्य विपद् जोखिमका कारण असोज १८ गते बेलुका ५ बजेदेखि असोज २० गतेसम्म जिल्लाभरका सबै साना र ठूला सवारी साधन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले शनिवार सार्वजनिक सूचना प्रकाशित गर्दै भारी वर्षा र मनसुनजन्य विपद् जोखिमका कारण धादिङ जिल्लाभरका सबै साना र ठूला सवारी साधन असोज १८ गते बेलुका ५ बजे देखि असोज २० गतेसम्मका लागि सञ्चालनमा रोक लगाएको जानकारी दिएको छ ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार, यस अवधिमा पूर्वी क्षेत्रको कोशी प्रदेशदेखि पश्चिमी लुम्बिनी प्रदेशसम्म हल्का देखि मध्यम वर्षासँगै केही स्थानमा भारी वा अति भारी वर्षा हुने सम्भावना रहेको छ। धादिङ जिल्लाभर निरन्तर वर्षा भइरहेको र यसले बाढी, पहिरो र डुवानको उच्च जोखिम निम्त्याउन सक्ने देखिएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले यात्रु र यातायात व्यवसायीलाई अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको छ। पहिरो जोखिममा रहेका वस्ती तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। आवश्यक परेमा प्रभावित वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गर्न स्थानीय तहहरूलाई अनुरोध गरिएको छ।

सुरक्षा निकाय, स्थानीय तह, विपद् स्वयंसेवक र विपद् सूचक समूहहरूले स्वीकृत विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाअनुसार सतर्क रहनुपर्ने सूचनामा भनिएको छ । मुख्य सडक खण्डहरूमा आवश्यक मर्मतसम्भार उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। काम गर्ने अपरेटर वा कर्मचारीहरूको नाम र सम्पर्क नम्बर नजिकको सुरक्षा इकाई र सम्बन्धित वडाध्यक्षलाई उपलब्ध गराउनुपर्ने बताइएको छ।

प्रशासनले जिल्लावासी, यातायात व्यवसायी, संघ/संस्था, स्थानीय तह र सरोकारवालाहरूलाई सावधानी, सतर्कता र पूर्व तयारी अपनाउन विशेष अनुरोध गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेद्धारा जारी गरिएको सूचनामा सवारी बन्द भएकाले यात्रुहरूलाई परेको असुविधा प्रति प्रशासनले क्षमा प्रकट गरेको छ र सबैलाई सावधानी अपनाउन अनुरोध गरेको छ।

आपतकालिन अबस्था आईपरेमा निम्न नम्बरमा सम्पर्क गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ ।

* जिल्ला प्रहरी कार्यालय, धादिङ: ०१०-५२०१९९
* सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय, धादिङ: ९८५१२२९८६०
* इलाका प्रहरी कार्यालय, गजुरी: ९८५१२९८३००
* जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरी: ९८५१३२२५६४
* जिल्ला आपतकालिन केन्द्र, धादिङ: ०१०-५२१४६४