राजधानी र आसपासका क्षेत्रमा बर्षा कम हुंदै

306 पटक पढिएको

१९ आश्विन २०८२, आईतवार ०७:५८ सम्पादक: धादिङ न्यूज

काठमाडौं । राजधानी काठमाडौंमा वर्षा क्रमशः कम हुँदै गएको छ। जल तथा मौसम विज्ञान विभागको असोज १९ गते बिहान ६ बजेको  अपडेट अनुसार पछिल्लो एक घण्टादेखि वर्षा रोकिएको छ, जुन राजधानीका बासिन्दाका लागि सुखद समाचार हो। हाल सक्रिय वर्षा प्रणाली भने कोशी प्रदेशमा केन्द्रित रहेको विभागले जनाएको छ।

मौसम बिशेषज्ञ डाक्टर धरमराज उप्रेतीका अनुसार  आज रामेछाप, ओखलढुंगा लगायत पूर्वी पहाडी क्षेत्रहरूमा वर्षाको प्रभाव रहनेछ। तर भोलिदेखि उक्त प्रणाली देशबाहिरिने सम्भावना बलियो छ। काठमाडौं उपत्यकामा आज दिउँसोसम्मै प्रणाली कमजोर हुँदै बाहिरिने अनुमान गरिएको छ।

वर्षा रोकिन थाले पनि नदीमा आएको बाढी घट्न अझ केही समय लाग्ने अनुमान गरिएको छ। आज दिनभर जलस्तर स्थिर रहन सक्ने देखिएको छ भने पूर्वी नेपालका नदीहरूमा भोलि साँझदेखि मात्र बाढी घट्ने र खतरा तहभन्दा तल जाने सम्भावना छ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा भने यो प्रणालीको कुनै प्रभाव छैन।

नदीहरूको वर्तमान अवस्था अनुसार —

  • बागमती नदी (खोकना, ललितपुर) : स्थिर तर खतरा तहमै।
  • कोशी नदी : खतरा तहभन्दा माथि र बढ्दो अवस्थामा।
  • कन्काई नदी : खतरा तहभन्दा माथि र बढ्दो।
  • मेची नदी : खतरा तहभन्दा माथि तर घट्दो अवस्थामा।

मौसमविद्हरूका अनुसार काठमाडौं लगायत मध्य र पश्चिमी नेपालमा सुधारको संकेत देखिए पनि पूर्वी नेपालमा सतर्कता जारी राख्नुपर्ने चेतावनी दिइएको छ।