निर्वाचन आयोगले सार्वजनिक गर्यो प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका
357 पटक पढिएको
काठमाडौं -निर्वाचन आयोगले आउँदो २०८२ साल फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक तयारी कार्यतालिका स्वीकृत गरेको छ। आयोगको निर्णयअनुसार निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया चरणबद्ध रूपमा सञ्चालन गरिनेछ।
स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने कार्यक्रम रहनेछ। आयोगमा पहिले नै दर्ता भएका दलहरूले पनि निर्वाचन प्रयोजनका लागि पुनः दर्ता गराउनुपर्नेछ।

पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष प्रणाली)अन्तर्गत माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ।
त्यस्तै समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते कार्यालय स्थापना र पौष १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम तय गरिएको छ।
निर्वाचन प्रचारप्रसार फागुन ३ गतेदेखि १८ गतेसम्म चल्नेछ भने त्यसपछि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।
मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ।
दुवै प्रणालीतर्फका मतपेटिका संकलन भएपछि मतगणना सुरु गरिनेछ।
आयोगले कार्यतालिका अनुसार राजनीतिक दल, सरोकारवाला निकाय तथा सम्बन्धित पक्षहरूसँग नियमित परामर्श र समन्वय गर्ने जनाएको छ।
साथै आयोगले स्मरण गराएको छ – निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले मिति २०८२ असोज ३० गतेअघि दल दर्ताको प्रमाणपत्र लिएर तयार हुनुपर्नेछ, अन्यथा निर्वाचन प्रयोजनका लागि दर्ता गर्न नपाइने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार कार्यतालिकाको सबै चरणमा पारदर्शिता, समावेशिता र समयपालनालाई उच्च प्राथमिकता दिइनेछ।







