खटाएको ठाउँमा हाजिर हुन कर्मचारीलाई सात दिनको ताकेता

216 पटक पढिएको

२१ आश्विन २०८२, मंगलवार २०:५६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ, २१ असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही प्रमुख प्रशासकीय अधिकृतहरूले खटाइएको स्थानीय तहमा नगएपछि स्थानीय तहको नियमित कामकाज प्रभावित भएको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार, विगतमा पठाइएको पत्रअनुसार पनि केही कर्मचारीहरूले स्थानीय तहमा हाजिर नहुँदा कामकारवाहीमा बाधा परेको छ। यसले प्राकृतिक विपत्तिका कारण उत्पन्न अवस्थाको व्यवस्थापनमा समेत कठिनाई सिर्जना गरेको बताइएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत भविन्द्र कार्कीले हस्ताक्षर गरिएको पत्रमा भनिएको छ  “स्थानीय तहमा कर्मचारीको नियमित हाजिरी सुनिश्चित गर्नु आवश्यक छ, जसले विकास, समृद्धि र सुशासनमा योगदान पुर्‍याउँछ।”

मन्त्रालयले सम्बन्धित कर्मचारीहरूलाई पत्र प्राप्त भएको मितिले ७ दिन भित्र स्थानीय तहमा उपस्थित हुन निर्देशन दिएको छ।  निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० अनुसार खटाईएको ठाउँमा हाजिर नभए कार्वाही हुन सक्ने मन्त्रालयले स्पष्ट पारेको छ।

यस कदमले स्थानीय तहको कामकाज नियमित राख्न, विकास परियोजनाहरू समयमै सम्पन्न गर्न र आपतकालीन अवस्था व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ।