लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सात जनामाथि मुद्दा,
256 पटक पढिएको
काठमाडौँ, २३ असोज । केही समयदेखि शिथिल देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनः सक्रिय बनेको छ। आयोगले पोखराको बहुचर्चित ‘लिची बगान’ घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सात जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री तथा एमाले नेता राजकुमार गुप्ता, पूर्व भूमि व्यवस्थामन्त्री तथा नाउपाकी तत्कालीन अध्यक्ष रञ्जिता श्रेष्ठ, कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख अधिकृत रामचन्द्र अधिकारी, बिचौलिया सुजन लामा, खेम पुन, यामकुमारी गुरुङ र तुल्सीराम बुढामगरलाई प्रतिवादी बनाएर बुधबार मुद्दा दायर गरेको हो।
मुद्दामा खेम पुनसँग २५ लाख रुपैयाँ बिगो माग गरिएको छ भने बाँकी छ जनासँग ७८/७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।
कास्कीको पोखरा–बाटुलेचौरस्थित १३४ रोपनी जग्गा हडप्ने प्रयोजनमा मन्त्री, कर्मचारी र बिचौलियाबीच भएको भनिएको अडियो सार्वजनिक भएपछि यो प्रकरण चर्चामा आएको थियो। अडियो सार्वजनिक भएपछि तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए।







