एमालेमा असन्तुष्टि बढ्दै : ओलीको राजीनामा माग्दै नेताहरू, सचिवालयमा बहस

193 पटक पढिएको

२४ आश्विन २०८२, शुक्रबार २१:१८ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेमा फेरि आन्तरिक मतभेद सतहमा आएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि शीर्ष तहकै नेताहरूले नेतृत्व परिवर्तनको दबाब बढाएका छन्। शुक्रबार गुण्डुस्थित ओली निवासमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले लिखित रूपमा ओलीको राजीनामा मागेका हुन्।

बैठकमा उनीहरूले पुरानै सोच र शैलीमा पार्टी चलाउन नसकिने उल्लेख गर्दै नयाँ पुस्तालाई नेतृत्व दिने वातावरण बनाउन आग्रह गरे।
“अब पार्टी नयाँ सोच र शैलीमा अघि बढ्नुपर्छ,” शाक्य र ज्ञवालीले राखेको लिखित सुझावमा भनिएको छ।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सुरेन्द्र पाण्डे पनि नेतृत्व हस्तान्तरणको पक्षमा देखिएका छन् भने महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले भने ओलीको बचाउ गरेका छन्। उनीहरूले अहिले नेतृत्वमाथि आरोप लगाउनेभन्दा संगठन एकतामै जोड दिनुपर्ने तर्क गरेका छन्।

बैठकमा बोल्ने नेताहरूको धारणा दुई ध्रुवमा विभाजित देखिएको छ —
एक समूहले तत्काल नेतृत्व पुस्तान्तरणको माग गरेको छ भने अर्को समूहले महाधिवेशनबाट मात्रै निर्णय गर्नुपर्ने अडान लिएको छ।

बैठकमा ओलीले सबैको कुरा शान्त रूपमा सुनेका छन्। एक पदाधिकारीका अनुसार, ओलीले कुनै प्रत्यक्ष प्रतिक्रिया नदिई “मौकामा विचार गर्ने” भनेका छन्।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, सचिवालय बैठक शनिबार पनि बस्नेछ र बाँकी पदाधिकारीहरूले धारणा राखेपछि मात्र निचोड आउनेछ।
भोलिको बैठकमा महाधिवेशनको मिति र तयारीबारे औपचारिक प्रस्ताव आउने सम्भावना रहेको छ।

पार्टीभित्र पछिल्ला दिनमा फैलिएको असन्तुष्टि र नेतृत्व विवादले एमालेमा नयाँ राजनीतिक तरङ्ग ल्याएको छ। कतिपय नेताहरूले यसलाई “नेतृत्व पुस्तान्तरणको स्वाभाविक चरण” भनेका छन् भने केहीले “आन्तरिक शक्ति प्रदर्शन”को रूपमा व्याख्या गरेका छन्।