राष्ट्रपतिद्वारा सर्वदलिय छलफलको शुरुवात, राजनीतिक संवादमा नयाँ आशा
192 पटक पढिएको
काठमाडौं । राष्ट्रपतिले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूलाई साथमा राखी सर्वदलिय बैठकको आयोजनागरेपछि मुलुकको राजनीतिक वातावरण सहज बन्दै जाने अपेक्षा गरिएको छ।
शुक्रवार शितल निवासमा आयोजित बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रह्यो, जसलाई संवाद र सहमतिको नयाँ प्रारम्भका रूपमा हेरिएको छ। बैठकमा सहभागी दलहरूले कुनै पनि प्रकारको बहिष्कारको भाषा प्रयोग नगरेको र संविधान र निर्वाचनप्रतिको प्रतिबद्धता दोहोर्याएको बताइएको छ।
नयाँ सरकार गठनपछि भएको यो पहिलो औपचारिक सर्वदलिय छलफलले आगामी दिनमा राजनीतिक स्थिरता र निर्वाचन तयारीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
राजनीतिक वृत्तका अनुसार, अब राष्ट्रपति, प्रधानमन्त्री र निर्वाचन आयोगबीच निरन्तर छलफलहरू हुनेछन्। यसले लामो समयदेखि ठप्प रहेको राजनीतिक संवादलाई पुनः सक्रिय बनाउने संकेत गरेको छ।
जेनजी आन्दोलनपछिको वर्तमान राजनीतिक संक्रमणकालीन अवस्थालाई ध्यानमा राख्दै, विश्लेषकहरूले पनि राष्ट्रपतिको यो पहललाई स्वागत गरेका छन्। उनीहरूका अनुसार, यस्तो प्रयासले मुलुकलाई राजनीतिक निकास र निर्वाचनतर्फको बाटोमा अघि बढाउन सहयोग पुर्याउनेछ।







