भण्डारीको सदस्यता नवीकरणको पक्षमा एमालेमा फेरियो समिकरण
256 पटक पढिएको
काठमाडौं । नेकपा (एमाले) भित्रको शक्ति सन्तुलन फेरिएको छ। लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीका नजिक मानिँदै आएका उपाध्यक्ष विष्णु पौडेल अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका छन्।
शुक्रबार सुरु भएको पार्टीको ५८औं सचिवालय बैठकमा पौडेलले भण्डारीको सदस्यता नवीकरण नगर्ने अघिल्लो निर्णय सच्याउनुपर्ने माग गरेका हुन्। उनका अनुसार पूर्वराष्ट्रपतिलाई पार्टीमा पुनः स्वागत गर्नु उचित हुने बताइएको छ।
एक पदाधिकारीका अनुसार पौडेलले बैठकमा भने, “पूर्वराष्ट्रपतिले फेरि पार्टीमा सक्रिय हुन चाहनु भएको छ भने हामीले वेलकम गर्नुपर्छ।”*
पौडेलसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र रामबहादुर थापा ‘बादल’ पनि विद्या भण्डारीको पक्षमा उभिएका छन्। उनीहरूले भण्डारीको सदस्यता रोक्नुले पार्टीभित्र अनावश्यक तनाव र मनोवैज्ञानिक दूरी बढाएको टिप्पणी गरेका छन्।
बैठकमा उपाध्यक्ष बादलले भने, “पार्टी एकताको आवश्यकता भएको बेला पूर्वराष्ट्रपतिलाई बाहिर राख्नु ठीक होइन, उहाँलाई अवसर दिनुपर्छ।”
एमालेभित्र हालको यो नयाँ धारको उदयले अध्यक्ष ओलीको प्रभावमा केही चुनौती देखिएको विश्लेषण गरिएको छ।







