ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित

279 पटक पढिएको

२५ आश्विन २०८२, शनिबार १४:५९ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आज बस्ने तय गरिएको बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ।

अब बैठक भोलि बिहान ११ बजे बस्ने गरी सारिएको छ। हिजो बसेको बैठक झन्डै साढे ६ घन्टा चलेको थियो र त्यसपछि आज पुनः बस्ने तय गरिएको थियो।

शुक्रबार गुण्डुस्थित ओली निवासमा बसेको बैठकमा पार्टी नेतृत्वबारे तीव्र आलोचना भएको थियो। उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओलीको राजीनामा खुला रूपमा माग गरेकी थिइन् भने उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि नेतृत्व परिवर्तनको आवश्यकता औंल्याएका थिए।

हालैको जेनजी आन्दोलनपछि एमालेभित्र पनि नेतृत्व परिवर्तनको दबाब बढेको देखिन्छ। शुक्रबारको बैठकमा ओलीलाई राजीनामा दिन र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय हुने वातावरण बनाउन समेत माग गरिएको थियो।