कांग्रेस केन्द्रीय समितिको बैठक असोज २८ गते बस्ने

308 पटक पढिएको

२५ आश्विन २०८२, शनिबार १९:३३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गतेका लागि तय गरेको छ।

असोज २३ गतेदेखि सुरु भएको पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र कार्यसम्पादन समितिको बैठक शनिबार सम्पन्न भएको भए पनि केही तयारी आवश्यक भएकाले केन्द्रीय बैठक दुई दिन पछाडि सारिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो।

डा. महतका अनुसार सम्पन्न बैठकमा भदौ २३ र २४ का घटनाले पार्टी र राष्ट्रिय राजनीतिमा पारेको प्रभावबारे गम्भीर छलफल भएको थियो। साथै, संसद् पुनःस्थापना, आगामी निर्वाचन तयारी र पार्टी महाधिवेशनका प्रक्रिया सम्बन्धी विषयमा पनि विस्तृत विचार–विमर्श भएको बताइएको छ।

“पार्टी महाधिवेशन विधिसम्मत रूपमा सम्पन्न गर्दै युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषय पनि केन्द्रीय कार्यसमितिको एजेन्डामा राखिनेछ,” उहाँले भन्नुभयो।

निर्वाचनका विषयमा सरकारले पर्याप्त गम्भीरता नदेखाएको भन्दै प्रवक्ता महतले निर्वाचन सम्बन्धी अन्योलता अझै कायम रहेको टिप्पणी गर्नुभयो।

यसअघि उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको कार्यसम्पादन बैठकले केही परामर्शहरू सभापतिसमक्ष पेश गरेको र ती सिफारिसका आधारमा केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरिने पनि जनाइएको छ।