धादिङ खटौतीबाट २१९ किलो गाँजासहित दुईजना पक्राउ
279 पटक पढिएको
धादिङ,२६ असोज -धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ खटौतीबाट अवैध लागूऔषध गाँजा करिब २१९ किलो २१ ग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) विकास थापाको नेतृत्वमा गएको टोलीले बेनिघाटरोराङ गाउँपालिका-९ खटौटीस्थित गोर्खाली होटल अगाडि रोकिराखेको भारतीय नम्बर प्लेट (बिआर ०१ जिबि ८६५३) को मिनि ट्रकबाट लागूऔषध बरामद गरेको हो। ट्रकको क्याबिन पछाडि फल्स बटम (भित्री तह) बनाई ३० साना पोकामा लुकाइछिपाइ चितवनतर्फ लैजान लागिएको अवस्थामा प्रहरीले समातेको हो।
घटनामा संलग्न पर्सा जिल्लाका दुई व्यक्तिहरू बहुदरमाई नगरपालिका-४ का २८ वर्षीय दिननाथ यादव र कालिकामाई गाउँपालिका-१ का ५३ वर्षीय कमल राउत कूर्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालले जानकारी दिए। उनीहरूलाई आइतबार जिल्ला अदालतमा पेश गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







