गजुरी गाउँपालिकाले फोहोर व्यवस्थापनमा कडाइ गर्ने
273 पटक पढिएको
धादिङ – गजुरी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र अनियमित रूपमा फोहोर फ्याँक्ने कार्य रोक्न कडाइ गर्ने भएको छ। गाउँपालिकाको फोहोर व्यवस्थापन तथा सरसफाइ सम्बन्धी विषय सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गाउँपालिकाले ध्यानाकर्षण गराउँदै आगामी दिनमा व्यवस्थित व्यवस्थापन गर्ने निर्णय गरेको हो।
गाउँपालिकाले असोज २६ गते जारी गरेको सूचनामा व्यक्तिगत तथा व्यावसायिक रूपमा फोहोर सङ्कलन र व्यवस्थापन गर्ने सबैलाई तोकिएको स्थानमा मात्रै फोहोर फ्याँक्न निर्देशन दिइएको छ। गाउँपालिकाका विभिन्न क्षेत्रमा अनियन्त्रित रूपमा फ्याँकिएको फोहोर तत्काल उठाइ व्यवस्थापन गर्न पनि सूचनामा आग्रह गरिएको छ।
फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि गत वर्ष वडा नं. ६ चापा भञ्ज्याङ–सालघारीमा रु. ५० लाखको लागतमा जग्गा खरिद गरी फोहर व्यवस्थापन केन्द्र निर्माण गजुरी–६ स्थित फोहोर संकलन तथा व्यवस्थापन केन्द्र निर्माणको काम सुरु भइसकेको गाउँपालिकाले जनाएको छ।
यस वर्ष संघीय सरकार र गाउँपालिकाबाट समान ८९–८९ लाख सहित थप १५ लाख गरी जम्मा रु. १ करोड ९३ लाख बजेट विनियोजन भई हाल टेन्डर प्रक्रियामा रहेको गाउँपालिकाले जनाएको छ। आर्थिक वर्ष २०८२/८३ भित्रै उक्त केन्द्र निर्माण कार्य सम्पन्न गरी वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन सुरु गर्ने योजना रहेको गाउँपालिकाले बताएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेम बहादुर राजतले सार्वजनिक सूचना जारी गर्दै फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन सम्पूर्ण स्थानीयवासीलाई आग्रह गरेका छन्। उनले गाउँपालिकाको निर्णय विपरीत अनियमित रूपमा फोहोर फ्याँक्नेहरूमाथि आवश्यक कानुनी कारबाही गरिने चेतावनी पनि दिएका छन्।
गजुरी गाउँपालिकाले फोहर व्यवस्थापनलाई दिगो रूपमा समाधान गर्ने लक्ष्यसहित “फोहरलाई मोहर” अवधारणामा आधारित केन्द्र निर्माणको काम अघि बढाएको जनाएको छ।








