धादिङ जिल्लाका १२ जनालाई ‘वन संरक्षण योद्धा’ सम्मान

279 पटक पढिएको

२९ आश्विन २०८२, बुधबार ०६:०७ सम्पादक: धादिङ न्यूज

धादिङ । वन संरक्षण र वातावरणीय सन्तुलनका क्षेत्रमा उल्लेखनीय योगदान दिने धादिङ जिल्लाका १२ जनालाई ‘वन संरक्षण योद्धा’ सम्मान प्रदान गरिएको छ।

 डिभिजन वन कार्यालय धादिङ र सामुदायिक वन उपभोक्ता महासंघ धादिङको आयोजनामा असोज २७ गते सम्पन्न कार्यक्रममा ९ जना जीवित र ३ जना मरणोपरान्त योद्धालाई सम्मान गरिएको हो। सम्मानित भएका व्यक्तिले लामो समय देखि समुदायस्तरमा रहेर वन संरक्षणमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आईरहेका थिए ।

सम्मानित हुनेहरूमा नीलकण्ठ नगरपालिका–६ का ८६ वर्षीय शेरबहादुर नगरकोटी, नीलकण्ठ नगरपालिका–७ की ७६ वर्षीया चिनिमाया दमिनी, नीलकण्ठ नगरपालिका–१२ का लोकबहादुर नेपाली, नीलकण्ठ नगरपालिका–२ का ७२ वर्षीय बुद्धिबहादुर नेपाल, ज्वालामुखी गाउँपालिका–४ का ८२ वर्षीय विष्णुप्रसाद मिश्र, सिद्धलेक गाउँपालिका–६ की ७८ वर्षीया भगवती लम्साल, सिद्धलेक गाउँपालिका–३ का ७६ वर्षीय चन्द्रबहादुर थापा मगर र सिद्धलेक गाउँपालिका–१ का ७५ वर्षीय कृष्णबहादुर सिलवाल रहेका छन्।

त्यसैगरी मरणोपरान्त सम्मान प्राप्त गर्नेहरूमा नीलकण्ठ नगरपालिका–१४ की रमादेवी सापकोटा, नीलकण्ठ नगरपालिका–२ का मानध्वज मगर र हस्तकुमारी नेपाल रहेका छन्।

यी व्यक्तिहरूले लामो समयदेखि सामुदायिक वन संरक्षण, वृक्षरोपण, वन्यजन्तु संरक्षण, अवैध फडानी नियन्त्रण र जनचेतनामूलक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर के.सी.ले हाम्रो अस्तित्व नै प्रकृतिसँग गाँसिएको बताउँदै वन, पानी र वातावरणलाई जोगाउन सके मात्र भावी पुस्ताले सुरक्षित र स्वस्थ जीवन पाउने बताएका छन्। मन्त्री के.सी.का अनुसार धादिङको सामुदायिक वन प्रणालीले वन क्षेत्र विस्तार, वन्यजन्तुको बासस्थान संरक्षण र जलवायु परिवर्तनका असर घटाउन महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।