नेकपा (एमाले) धादिङ–१ नम्बर क्षेत्रीय समन्वय कमिटीद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

402 पटक पढिएको

२ कार्तिक २०८२, आईतवार २०:१९ सम्पादक: धादिङ न्यूज

धादिङ । नेकपा (एमाले) धादिङ–१ नम्बर क्षेत्रीय समन्वय कमिटीद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा शुभकामना आदान-प्रदान कार्यक्रम कात्तिक २ गते आईतबार गल्छीमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले चुनावको वातावरण नबनाएको र निर्वाचन गराउने इच्छाशक्ति समेत नराखेकोआरोप लगाउनुभयो ।  गणतन्त्र र न्यायको पक्षमा उभिएका नेताहरूमाथि प्रहार भइरहेको उल्लेख गर्दै, “प्रहरीले अपराधी पक्रन्छ, तर गृहमन्त्रीले छाड्छन् – यस्तो अवस्थामा चुनावको वातावरण बन्न सक्दैन,” उहाँले भन्नुभयो ।

ज्ञवालीले ५ हजारभन्दा बढी कैदीहरू जेलबाहिर रहेर अपराध गरिरहेको र यस्तो परिस्थितिमा शान्तिपूर्ण निर्वाचन सम्भव नहुने बताउनुभयो । उहाँले सरकारद्वारा गठन गरिएको छानबिन आयोग पूर्वाग्रही र निष्पक्ष नभएको आरोप लगाउँदै, सर्वोच्च अदालतका न्यायाधीशको संयोजकत्वमा मात्र विश्वसनीय छानबिन सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै, उहाँले जेन्जी आन्दोलनलाई देश जलाउने सुनियोजित गतिविधिको रूपमा चित्रण गर्दै, त्यस दिनलाई “इतिहासकै दुर्दान्त दिन” को संज्ञा दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले अहिलेको सरकार “खरानीबाट जन्मिएको र राष्ट्र सिध्याउने दिशामा लागेको” आरोप लगाउनुभयो । उहाँले चाडपर्वको शुभकामनासँगै एमालेले आन्दोलनको तयारी अगाडि बढाइरहेको जानकारी दिनुभयो ।

कार्यक्रम क्षेत्रीय समन्वय कमिटीका संयोजक प्रेमनाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव राजकुमार रिमालले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रम उद्घाटन पूर्व राष्ट्रिय युवा संघ नेपाल धादिङ र अनेरास्ववियु धादिङले काठमाडौंको सिमाना नागढुंगा र चितवनको सिमाना मौवाखोला बाट मलेखु  हुँदै  मोटरसाइकल र्‍याली निकालेका थिए ।