नेपालमा चक्रवात ‘मोन्था’को प्रभाव: वर्षा, हिमपात र नदी बहावको जोखिम बढ्दै

187 पटक पढिएको

११ कार्तिक २०८२, मंगलवार २०:३१ सम्पादक: धादिङ न्यूज

काठमाण्डौं । बंगालको खाडीमा बनेको चक्रवात ‘मोन्था’ का कारण नेपालमा आगामी कार्तिक १३ गते बिहीबारदेखि १५ गते शनिबार बिहानसम्म मौसममा ठूलो प्रभाव पर्ने सम्भावना रहेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सतर्कतामा कोशी, मधेश र बागमती प्रदेशका धेरै क्षेत्र वर्षा र उच्च पहाडी/हिमाली भू-भागमा हिमपात हुने अनुमान गरिएको छ।

कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा वर्षा हुने सम्भावना छ। मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी जिल्लामा मध्यमदेखि भारी वर्षा पर्ने सम्भावना छ भने बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली जिल्लामा केही स्थानमा वर्षा हुने अनुमान छ।

मौसम विभागका अनुसार उच्च पहाडी र हिमाली भू-भागमा मध्यम हिमपात हुने सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशका उच्च भू-भागका केही स्थानमा भारी हिमपात समेत हुने सम्भावना छ। साथै, बागमती, कमला, कोशी र कन्काई नदी तथा यी नदीका सहायक नदीमा बहाब उल्लेख्य बढ्ने सम्भावना छ। महाभारत र चुरे भई बहने स-साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने चेतावनी पनि दिइएको छ।

यस अवस्थाले सडक, हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा असर पुर्याउने सम्भावना छ। त्यसैले प्राधिकरणले सबै सरोकारवाला निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वयंसेवक र समुदायलाई सतर्क रहन र पूर्वतयारी गर्न आग्रह गरेको छ।

अत्यावश्यक बाहेक यात्रा नगर्न, डुबान हुने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न, धान तथा अन्य बाली काटिएको भए तत्काल भित्र्याउन, र सुरक्षा निकाय तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न भनिएको छ। सबै निकाय र साझेदार संस्था सतर्क रहि आवश्यक प्रतिकार्यका लागि तयारीमा रहेको प्राधिकरणले जनाएको छ।