देशभर पश्चिमी वायू र ‘मोन्था’ चक्रवातको प्रभाव, हिमपात र वर्षाको सम्भावना
300 पटक पढिएको
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।
हाल देशभर सामान्यतया बदली रहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली, बागमती र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।
विभागका अनुसार आज बिहानसम्म गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात वा वर्षा हुने सम्भावना रहेको छ । त्यस्तै, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात वा वर्षाको पनि सम्भावना छ ।
विभागले कार्तिक १३ गते बिहीबार कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने, साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च भागका थोरै स्थानहरूमा मध्यम हिमपात हुने सम्भावना रहेको जनाएको छ । मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा दैनिक जनजीवन, पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
तीन प्रदेशमा ‘मोन्था’ चक्रवातको असर
बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण नेपालका कोशी, मधेश र बागमती प्रदेशमा प्रत्यक्ष असर पर्ने विभागले जनाएको छ ।
विभागका अनुसार उक्त चक्रवातको प्रभाव बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म रहनेछ । यस अवधिमा मधेश र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ । साथै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ ।
प्रभावित हुने जिल्लामा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी रहेका छन् । मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी प्रभावित हुने सम्भावना छ । त्यस्तै, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली जिल्ला पनि प्रभावित हुने विभागले जनाएको छ ।







