पूर्वी नेपालमा मुसलधारे वर्षा : इटहरी–विराटनगरमा २४८ मिमि, धानखेतीमा ठुलो क्षति
267 पटक पढिएको
धादिङ, १४ कात्तिक ।कोशी प्रदेशको इटहरी–विराटनगर आसपास रहेको हरैचा मौसमी केन्द्रले पछिल्लो २४ घण्टामा २४८ मिमि वर्षा मापन गरेको जनाएको छ। यो वर्षा अति भारी वर्षा को श्रेणीमा पर्छ। लगातारको वर्षाका कारण पूर्वी नेपालका झापा, इलाम, मोरङ, सुनसरी लगायत जिल्लामा धान भित्र्याउने किसानहरूलाई ठूलो नोक्सानी पुगेको छ। हल्का र मध्यम वर्षाले समेत पाकेको धान खेतमा असर पुर्याएको किसानहरूले बताएका छन्।
काठमाडौं उपत्यकामा भने पछिल्ला २४ घण्टामा २० देखि ३७ मिमि वर्षा मात्र भएको छ र बाढी–डुबानको जोखिम देखिएको छैन। अब पनि केही स्थानमा हल्का वर्षा भए पनि काठमाडौंसहित देशको पश्चिमी भागमा भारी वर्षाको सम्भावना कम देखिएको छ। तर देशको उत्तरी हिमाली क्षेत्रमा भने भोलिसम्म हिमपातको सम्भावना कायम रहेको जलवायु विज्ञ डा.धर्मराज उप्रेतीले वताउनु भयो ।
मनास्लु क्षेत्रमा पछिल्लो २४ घण्टामा १६०.८ मिमि वर्षा र हिमपात समेत भएको छ। पूर्वी नेपालमा मुसलधारे वर्षा भएपछि खेतबारीमा पानी जमेको र धान भित्र्याउने क्रममा रहेका किसानहरूलाई थप समस्या भएको छ।
मौसम पूर्वानुमान अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। तर भोलि कात्तिक १५ गतेदेखि मौसममा सुधार भई दिउँसो घाम लाग्ने र आइतबारदेखि देशभर मौसम पूर्ण रूपमा सफा हुने संभावना छ। केही दिनपछि भने पश्चिमी वायुको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ।
देशभरको धानखेतीमा पछिल्ला वर्षाका कारण व्यापक क्षति पुगेको छ, तर सबैभन्दा बढी असर पूर्वी नेपालमा परेको बताइएको छ।







