कस्तो रहला आज दिनभरको मौसम
286 पटक पढिएको
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रही नेपालको मौसम प्रभावित भइरहेकोमा आज रातीबाट सो प्रभाव कम भइ क्रमिक रुपमा मौसममा सुधार हुने जानकारी दिएको छ । साथै नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
त्यस्तै हाल कोशी प्रदेशमा पूर्ण बदली र बाँकी भू-भागमा साधारणतया देखि अधिकांश बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको विभागले जनाएको छ ।
आज दिउसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ भने कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी प्रदेश र मधेश प्रदेश साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको ।







