पृथ्वी राजमार्गको चालिसेमा सात सवारी एकै ठाउँमा दुर्घटना
449 पटक पढिएको
धादिङ –पृथ्वीराजमार्ग अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६ चालिसेमा आज सात वटा सवारी एकै स्थानमा दुर्घटनामा परेका छन्। चार वटा बस, दुई ट्रक र एक मोटरसाइकल आपसमा ठोक्किँदा ठूलो मानवीय क्षति हुने जोखिम बढे पनि तत्कालै गरिएको उद्धारका कारण गम्भीर अवस्था नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेट भएको ट्रकको ब्रेक फेल भई अन्य सवारीमा ठक्कर दिँदा श्रृंखलाबद्ध दुर्घटना भएको हो। दुर्घटनापछि दुवैतर्फको सडक केही समय पूर्ण अवरुद्ध बनेको थियो।
दुर्घटनास्थलमा रहेका पत्रकार राजाराम डंगोलका अनुसार दुई ओटा बसका अधिकांश यात्रु घाइते भएका छन्। घाइतेहरूलाई स्थानीयले प्रहरीको सहयोगमा उद्धार गरी नजिकका स्वास्थ्य संस्था तथा आवश्यक परेकालाई काठमाडौंतर्फ पठाइएको छ।
दुर्घटनाको कारण रोकिएको सवारी आवागमन साँझ ६.१५ वजे सम्म खुल्न सकेको छैन । केही बेरमा सवारी खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।







