गल्छी घटनाका आरोपी नवराज खड्काको माफी– ‘आवेशमा गल्ती भयो’

341 पटक पढिएको

२१ मंसिर २०८२, आईतवार ०६:५१ सम्पादक: धादिङ न्यूज

धादिङ -धादिङको गल्छी–७ भल्टारमा भारतीय तीर्थयात्रीमाथि कुटपिट गरेको पुष्टि भएका स्थानीय नवराज खड्काले घटना आवेशमा भएको स्वीकार गर्दै इलाका प्रहरी कार्यालय, गजुरीमा मिलापत्रमार्फत माफी मागेका छन्। उनले भविष्यमा यस्तो व्यवहार नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका प्रहरीको भनाइ छ।

धादिङको गल्छी गाउँपालिका–७ भल्टारमा तीन दिन अघि एक भारतीय धार्मिक तीर्थयात्री तथा ब्लगरमाथि भएको कुटपिटको भिडियो सार्वजनिक भएपछि घटना देश–विदेशमा चर्चामा आएको छ। भारतीय युवकले इन्स्टाग्राममा राखेको उक्त भिडियो हालसम्म करिब ३ करोड भ्यु पुग्दै भाइरल बनेको छ।

भिडियोमा भारतीय नागरिक राहुल देव एक रेस्टुरेन्टमा चिया पिउँदै आफ्नो ब्लगका लागि भिडियो खिचिरहेका देखिन्छन्। केही बेरमै स्थानीय व्यक्तिसँग वाकयुद्ध बढ्दै गएको दृश्य देखिन्छ। त्यस क्रममा रक्सी सेवन गरेका नवराज खड्का नामका स्थानीय युवकले फोन तान्ने, धकेल्ने र हात उठाउने व्यवहार देखिएको भिडियो सार्वजनिक भएको प्रहरीले पुष्टि गरेको छ।

राहुलले भिडियोमै भनेका छन्,
“तीर्थयात्रा गरिरहेको छु। पशुपतिनाथको दर्शन गरेर आउँदैछु तर यिनले मलाई पीडा दिइरहेका छन्। मैले यसरी नेपालमा माया पाइरहेको छु।”

सामाजिक सञ्जालमा व्यापक विरोध

भिडियो सार्वजनिक भएपछि नेपालकै सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको छ।
— “देशकै बदनाम भयो”,
— “पर्यटकमैत्री वातावरण बिग्रँदैछ”,
— “यस्तो कार्यमा कडाभन्दा कडा कारबाही चाहिन्छ” जस्ता टिप्पणीहरू हजारौँ संख्यामा आएका छन्।

धेरैले यो घटनाले गल्छीको मात्रै नभएर नेपालकै बदनाम हुनुका साथै नेपालको पर्यटन छवि कमजोर हुने चेतावनी दिएका छन् भने विदेशी पाहुनामाथि सम्मानजनक व्यवहार गरिनुपर्ने बताएका छन् ।

आरोपीले मिलापत्र गरी पीडितसँग मागे  माफी

कुटपिट गर्ने युवक गल्छी–७ निवासी नवराज खड्का भएको पुष्टि भएको छ।
प्रहरीका अनुसार उनले घटना आवेशमा भएको गल्तीभन्दै इलाका प्रहरी कार्यालय, गजुरीमा मिलापत्र गरी पीडितसँग माफी मागेका छन्। उनले भविष्यमा यस्ता घटना नदोहोर्‍याउने जिम्मेवारी पनि दिएका छन्।

तर, माफी मागिएको भए पनि भारतीय युवकले भिडियो सार्वजनिक गरेपछि घटना झनै भाइरल बन्दै गएको र अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा चलिरहेको छ।

घटनाको जडबारे फरक दाबी

खड्काले धार्मिक विषयमा बोलिएको कुरा सुन्दा आक्रोश बढेकोले झैझगडा भएको दाबी गरेका छन्। तर, यो दाबीको आधिकारिक पुष्टि भने भएको छैन।