पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा
352 पटक पढिएको
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता र भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जना तत्कालीन मन्त्रीसहित ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ। अख्तियारका अनुसार मुद्दा दर्ता गर्ने काम अहिले विशेष अदालतमै जारी छ।
आयोगले यसअघि नै तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य लाई विपक्षी बनाउने निर्णय गरिसकेको थियो। बोगटीको निधन भइसकेका कारण उनकी पत्नी राममाया बोगटी लाई प्रतिवादीका रूपमा समावेश गरिएको छ। मुद्दामा सार्वजनिक धनको दुरुपयोग तथा भ्रष्टाचारका कारण झन्डै ८ अर्ब रुपैयाँ बिगो दाबी गरिएको छ।
अख्तियारले दायर गर्न लागेको मुद्दामा १० जना तत्कालीन सचिव समेत प्रतिवादी बनाइएका छन्। सो प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रति चन्द्र लाल सुमन र परियोजना व्यवस्थापकसमेत रहेका हाल निलम्बित महानिर्देशक प्रदीप अधिकारी पनि प्रतिवादीको सूचीमा छन्।
माओवादी नेता तथा दिवंगत बोगटी सो समयमा पर्यटनमन्त्री थिए। काँग्रेस नेता डा. रामशरण महत अल्जाइमर रोगका कारण सक्रिय राजनीतिबाट टाढा छन्। एमाले नेता भीम आचार्य विघटित प्रतिनिधिसभाका सांसद रहेकाले पछिल्लो समय पार्टी उपाध्यक्षका दाबेदारका रूपमा देखिन्छन्। त्यस्तै, झलनाथ खनालका स्वकीय सचिव रहिसकेका दीपक अमात्य र खिलराज रेग्मी नेतृत्वको मन्त्रिमण्डलमा प्रचण्डको सिफारिसमा मन्त्री बनेका रामकुमार श्रेष्ठ पनि यस प्रकरणमा सामेल छन्। श्रेष्ठ यसअघि अकुत सम्पत्ति सम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भइसकेका थिए।
अख्तियारद्वारा दायर गरिन लागिएको मुद्दामा त्यतिबेलाका सचिव, प्राविधिक, परियोजनामा संलग्न उच्च अधिकारीलगायत ठूलो संख्या समावेश छन्। आयोगका अनुसन्धानकर्ताको टोली मुद्दा दर्ता कार्य अन्तिम तयारीमा रहेको र विशेष अदालतमै व्यस्त रहेको स्रोतले बताएको छ।







