होमनाथ दाहालको निधनमा नेपाल पत्रकार महासंघ धादिङद्वारा श्रद्धाञ्जली सभा

321 पटक पढिएको

२६ पुष २०८२, शनिबार १२:५३ सम्पादक: धादिङ न्यूज

धादिङ ।नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष, पूर्वमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गर्दै नेपाल पत्रकार महासंघ धादिङ शाखाले श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीको अध्यक्षतामा पुस २६ गते शनिबार आयोजित श्रद्धाञ्जली सभामा वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य रामेश्वर कार्की, वागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, उपाध्यक्ष विमला पाण्डे, केन्द्रीय प्रतिनिधि परिषद सदस्य केशव अधिकारी लगायतको उपस्थिति रहेको थियो।

नेपाल पत्रकार महासंघका पूर्व सभापति समेत रहेका स्व. होमनाथ दाहालको निधनले नेपाली पत्रकारिता, राजनीति र प्रजातान्त्रिक आन्दोलनको क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै श्रद्धाञ्जली सभामा शोक प्रस्ताव पारित गरिएको थियो।

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष डा. मुरारी अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य श्रीहजुर सिलवाल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नारायण सिलवाल सहित महासंघ धादिङ शाखाका सल्लाहकार, पूर्व सभापति, पदाधिकारी, साधारण सदस्य, राष्ट्रसेवक कर्मचारीलगायतको सहभागिता रहेको थियो।

सभामा वक्ताहरूले स्व. दाहालले नेपाली पत्रकारिता, प्रजातान्त्रिक आन्दोलन र राजनीतिक क्षेत्रमा पुर्‍याएको योगदान स्मरण गर्दै उहाँको निधनले पत्रकारिता क्षेत्रले एक अनुभवी र निष्ठावान् व्यक्तित्व गुमाएको बताए।

पूर्वसांसद तथा पूर्वमन्त्री समेत रहेका होमनाथ दाहालको शुक्रबार साँझ काठमाडौंस्थित वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ८४ वर्षीय दाहाल केही समयदेखि अस्वस्थ रहँदै आएका थिए। उनकी धर्मपत्नी सुधा दाहाल हाल वीर अस्पतालमै उपचाररत छिन्।

स्व. दाहाल विपी विचारका सच्चा अभियन्ताका रूपमा परिचित थिए। उनी ओखलढुंगा जिल्लाबाट सांसद र मन्त्री समेत भएका थिए। पत्रकारिताको क्षेत्रमा उनी नेपाली कांग्रेसको मुखपत्र ‘राष्ट्रपुकार’ साप्ताहिकका सम्पादकका रूपमा समेत सक्रिय थिए।

ओखलढुंगामा जन्मिएका दाहालका दुई छोरा डा. सुधांशु दाहाल र हिमांशु दाहाल छन्।