पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
311 पटक पढिएको
काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती आज राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदैछ। नेपालको भौगोलिक, राजनीतिक र सांस्कृतिक एकीकरणका सूत्रधार पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै मुलुकभर श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो।
तत्कालीन अवस्थामा छरिएर रहेका बाइसे–चौबिसे राज्यलाई एकताबद्ध गर्दै शाहले नेपाललाई स्वतन्त्र राष्ट्रको रूपमा स्थापित गरे। उनका एकीकरण प्रयासका कारण नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रहरूमध्ये एकका रूपमा परिचित हुन सफल भएको इतिहासकारहरू बताउँछन्।
नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’को संज्ञा दिँदै भूराजनीतिक सन्तुलनको आवश्यकता औंल्याएका उनका विचार आज पनि राष्ट्रिय हित र परराष्ट्र नीतिमा सान्दर्भिक देखिन्छन्। साथै, घूसखोरीविरुद्ध दिएका उनका उपदेश सुशासन प्रवर्द्धनका आधारस्तम्भका रूपमा लिइन्छन्।
पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले जङ्गीअड्डा परिसरमा रहेको पूर्णकदको सालिकमा माल्यार्पण गरेको छ भने गोरखामा विशेष समारोह आयोजना गरिएको छ। विसं १८३१ मा ५२ वर्षको उमेरमा निधन भएका पृथ्वीनारायण शाह आज पनि राष्ट्रिय एकताको प्रतीकका रूपमा स्मरण गरिन्छन्।







