अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्दै रोनिक छत्कुलीले जन्मदिन मनाए

361 पटक पढिएको

२७ पुष २०८२, आईतवार १९:४० सम्पादक: धादिङ न्यूज

धादिङ । आजका धेरै युवाका लागि जन्मदिन व्यक्तिगत खुसी र सामाजिक सञ्जालको पोस्टमा सीमित हुन्छ । तर धादिङको ज्वालामुखी गाउँपालिका–७ चैनपुरका रोनिक छत्कुलीले भने आफ्नो जन्मदिनलाई मौन तर अर्थपूर्ण कर्ममा रूपान्तरण गरेका छन् ।

आइतबार बिहान छत्कुली केक काट्ने कार्यक्रममा होइन, नीलकण्ठ नगरपालिका–३ शान्तिटोलस्थित नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयमा थिए । हातमा खाद्यान्न र स्टेशनरी सामग्री बोकेर विद्यालय पुगेका उनले अपाङ्गता भएका बालबालिकासँग समय बिताउँदै जन्मदिन मनाए ।

कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षाको तयारीमा रहेका छत्कुलीका लागि यो दिन औपचारिक उत्सवभन्दा बढी आत्मसन्तुष्टिको अवसर बन्यो । “उनीहरूको जीवन सजिलो छैन,” उनले भने, “मेरो जन्मदिनमा गरिएको सानो सहयोगले यदि उनीहरूको पढाइ र दैनिक जीवनमा केही सहजता ल्याउँछ भने त्यो नै मेरो सबैभन्दा ठूलो खुसी हो ।”

हाल उक्त विद्यालयमा ३० जना बौद्धिक अपाङ्गता भएका बालबालिका अध्ययनरत छन् । विद्यालयकी प्रधानाध्यापक शर्मिला अधिकारीले छत्कुलीको पहललाई ‘समाजका लागि सन्देशमूलक’ भन्दै प्रशंसा गरिन् । उनका अनुसार सरकारी र समुदायको सहयोगबिना विशेष विद्यालय सञ्चालन चुनौतीपूर्ण हुने भएकाले यस्ता व्यक्तिगत प्रयासले ठूलो अर्थ राख्छन् ।

छत्कुलीको यो कदमले जन्मदिन केवल व्यक्तिगत उत्सव नभई सामाजिक उत्तरदायित्व झल्काउने अवसर पनि हुन सक्छ भन्ने सन्देश दिएको छ । युवाबाट देखिएको यस्तो संवेदनशील सोचले समाजमा सकारात्मक परिवर्तनको आशा जगाएको स्थानीयको भनाइ छ ।