फर्जी मतदातालाई २५ हजार जरिवानादेखि ‘निविदा मतपत्र’सम्मको व्यवस्था सहित मतदान निर्देशिका जारी
335 पटक पढिएको
काठमाडौँ — निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई व्यवस्थित, मर्यादित र धाँधलीरहित बनाउन ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२’ जारी गरेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८० बमोजिम जारी निर्देशिकाले मतदान केन्द्रको व्यवस्थापनदेखि मतपेटिका संकलनसम्मका सबै प्रक्रिया स्पष्ट गरेको छ। मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा कर्मचारीले अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गरिएको छ।
निर्देशिकाअनुसार मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि प्रचार–प्रसार निषेध (मौन अवधि) लागू हुनेछ। मतदान केन्द्र वरिपरि सभा, जुलुस वा नाराबाजी गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान राखिएको छ। मतदान केन्द्रको ३०० मिटर क्षेत्रलाई नियन्त्रित क्षेत्र तोक्दै हतियार तथा निषेधित सामग्री लैजान रोक लगाइएको छ।
मतदान बिहान ७ बजेदेखि सुरु हुनेछ। मतदान अधिकृतले उम्मेदवारका प्रतिनिधिको रोहबरमा खाली मतपेटिका देखाई सुरक्षण सिल लगाएर मतदान सुरु भएको मुचुल्का उठाउनुपर्नेछ। पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक प्रणालीका लागि छुट्टाछुट्टै मतपेटिका रहनेछन्।
अर्काको नाममा भोट हाल्न खोजेमा २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। यदि कुनै मतदाताको नाममा अरूले पहिले नै भोट हालिसकेको पाइएमा वास्तविक मतदाताले परिचय पुष्टि गरी ‘निविदा मतपत्र’ मार्फत मतदान गर्न पाउनेछन्। यस्तो मत छुट्टै खाममा राखिनेछ।
दृष्टिविहीन वा शारीरिक अशक्तताका कारण आफैँ मतदान गर्न नसक्ने मतदाताले परिवारको सदस्य वा मतदान अधिकृतको सहयोग लिन सक्ने व्यवस्था छ। गर्भवती, सुत्केरी, बिरामी र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइनेछ।
मतदानअघि ४८ घण्टादेखि मतदान सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री, वितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ। मतदान केन्द्रमा मोबाइल फोन, क्यामेरा तथा प्रज्वलनशील पदार्थ लैजान निषेध गरिएको छ।
मतदान समय सकिएपछि पनि लाइनमा बसेका मतदाताले भोट हाल्न पाउनेछन्। मतदान सम्पन्न भएपछि मतपेटिकामा सुरक्षण सिल लगाई सुरक्षित रूपमा संकलन केन्द्र पुर्याउनुपर्ने व्यवस्था गरिएको छ।
निर्देशिकामा ३२ वटा अनुसूची समावेश गरिएको आयोगले जनाएको छ।







